राजनीति समाचार

५४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज भारत जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार (आज) भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कँदैछन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि उनी भारत जान लागेका हुन् । उनको टोलीमा काठमाडौंबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित ५४ जना हुने छन् ।

प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि उनी सिधै भारतीय राष्ट्रपति भवन पुग्ने कार्यक्रम छ । त्यसपछि उनी भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा संलग्न हुनेछन् ।

प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमपछि उनी दिवाभोजमा सहभागी हुनेछन् ।

यस्तै भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम छ । जसमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्नु हुनेछ । साँझ भने बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राति भने नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोज आयोजना गर्ने भएको छ । रात्रिभोजमा दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई निमन्त्रणा गरेको जनाइएको छ ।

भ्रमणको दोस्रो दिन भोलि प्रधानमन्त्री ओलीलाई बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले स्वागत गर्दै केहीबेर वर्ता गर्नेछन् । भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर पनि दिनेछ । यस्तै उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

शनिबार नै हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने लगत्तै प्रतिनिधिमण्डलका सदस्यसहितको उपस्थितिमा द्विपक्षीय छलफल हुनेछ । त्यसपछि दुई देशबीच हुने सम्झौता तथा पत्र आदनप्रदान सम्बन्धी कार्यक्रम हुनेछ । दुई नेताबीच संयुक्त पत्रकार सम्मेलन गर्ने र प्रधानमन्त्री ओली र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिवाभोज हैदरावाद हाउसमै राखिएको छ भने साँझ प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणको तेस्रो दिन २५ गते भने प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जानेछन् । आइतबार साँझ उनी स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सञ्जाल विस्तार, सन् १९५० को सन्धिको पुनरावलोकन, अन्तरदेशीय प्रसारण लाइन, हुलाकी सडक, भूकम्पपछिको पुनःनिर्माणको अनुदान, पेट्रोलियम पाइप लाइनजस्ता विषयले प्राथमिकता पाउने जनाइएको छ ।

भ्रमणमा नयाँ सम्झौता नहुने र पुराना सम्झौता कार्यान्वयनमा प्राथमिकता दिने प्रधानमन्त्रीले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *