Uncategorized

एकताको नाममा अलमलिने समय छैन : कमल थापा

७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको नाममा अलमल गर्ने समय नभएको बताएका छन् । पार्टी संगठन निर्माणमा लाग्नुपर्ने भन्दै उनले पार्टी एकता वा अन्य नाममा अलमल गर्ने समय नभएको बताएका हुन् ।

पार्टीको संयोजित संगठन समन्वय विभागले शुक्रबार काठमाडौंमा गरेको उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले एकताको ढोका खुला राखेर जनसंघर्षका कार्यक्रम सञ्चालन गर्न राप्रपा अघि बढिसकेको बताए । टाउको जोडेर मात्र हुने एकताबाट शक्ति प्राप्त नहुने भन्दै नेता थापाले पार्टीको विचार तथा एजेण्डाप्रति इमान्दार भएमात्र राप्रपालाई ठूलो बनाउन सकिने दावी गरे ।

थापाले हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थाको पुनर्स्थापना र स्थानीय स्वायत्त शासन प्रणालीको लागि जनसंघर्षका कार्यक्रम सफल बनाउन संगठन विस्तारमा जोड दिन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउने जुनसुकै पार्टी, समूहका लागि एकताको ढोका खुल्ला रहेको पनि बताए ।

राप्रपा नेता तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनले एकताका नाममा अल्मलिने र हिन्दु राष्ट्र तथा राजसंस्था पुनर्स्थापना गर्ने बाटोमा अघि बढ्नबाट रोकिने छुट राप्रपालाई नभएको बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *