७ मंसिर, काठमाडौं । भारतको एक टापुमा बस्ने आदिवासीहरुलाई क्रिश्चियन बनाउने प्रयास गर्दा मारिएका एक अमेरिकी धर्मप्रचारक युवा मृत्युको अन्तिम पलसम्म पनि आफ्नो अभियान पूरा गर्न प्रतिबद्ध रहेको उनको डायरीले देखाएको छ ।
अरु मानिसहरुसँग अझै पनि अलग रहेका सेन्टिनेली आदिवासी समूहले बंगालको खाडीमा रहेको सानो दुर्गम टापुमा मारेको अनुमान गरिएका जोन एलेन चाउको भेटिएका डायरीका टुक्राहरुमा यस्तो भेटिएको हो ।
उनले एक आदिवासीले आफूलाई वाणले प्रहार गरेर बाइबल प्वाल पारिदिँदासम्म पनि आदिवासीहरुलाई आफ्नो धर्ममा परिवर्तन गराउन खोजेको लेखेका छन् ।
उनकी आमाले द वासिङ्टन पोस्टलाई उपलब्ध गराएको डायरीमा लेखिएको छ, ‘म चिच्याउँछु, मेरो नाम जोन हो । म तिमीलाई प्रेम गर्छु र जिससले तिमीलाई माया गर्छन् ।’ उनको लेखअनुसार यतिखेर उनलाई एक आदिवासी युवकले वाणले प्रहार गरिसकेका थिए ।
उनलाई उक्त टापुमा जान सहयोग गरेका माझीसँग भएको डायरीका पानाहरुमा उनको चिन्तन प्रष्ट भएको र उनी त्यस जातिलाई धर्म परिवर्तन गराउन प्रतिबद्ध भएको देखाउँछ ।
‘प्रभू यो टापु सैतानको अन्तिम कब्जा गरेको ठाउँ थियो कि के हो जहाँ कसैले पनि तपाईंको नाम सुनेका छैनन् र सुन्ने मौका पनि पाएनन् ?’ उनले लेखेका छन् ।
उनका नोटहरुले उक्त यात्रा अवैध भएको र कसरी सानो माछा मार्ने जहाजले उनलाई उक्त एक्लो टापुमा रात्री गस्तीहरु छल्दै ल्याइदियो उल्लेख गरिएको छ । डायरीमा लेखिएको छ, ‘प्रभु आफैले हामीलाई कोस्ट गार्ड र धेरै गस्तीहरुबाट बचाइरहनु भएको थियो ।’
उक्त यात्रामा उनलाई सहयोग गर्ने ७ स्थानीयहरु पनि पक्राउ परेका छन् ।
कसैसँग घुलमिल हुन चाहदैनन् आदिवासी समुदाय
सेन्टिनेली आदिवासीहरु पूर्ण रुपमा अरु मानिसहरुबाट अलग भएर अण्डमान निकोबारको एक टापुमा बस्ने गर्छन् । उनीहरु त्यहाँ दशौं हजार वर्षदेखि बस्दै आएको विश्वास गरिन्छ ।
यो जाति र उनीहरुको घरहरुलाई भारतीय कानूनले संरक्षित गरेको छ र उनीहरु जसरी बस्न चाहन्छन् त्यसरी नै बस्ने वातावरण बनाउन सरकारले कडा कानून बनाएको छ ।
उक्त दुर्गम टापुमा एक दर्जन भन्दा धेरै आदिवासी समुदाय बसोबास गर्ने मानिन्छ जुन अण्डमान र निकोबारको राजधानी पोर्ट ब्लेयर भन्दा ५० किलोमिटर टाढा छ ।
उनीहरुले पृथ्वीका केही त्यस्ता अन्तिम मानिसहरुको प्रतिनिधित्व गर्छन् जसको जीवनलाई आधुनिक सभ्यताले केही असर गरेको छैन ।
उक्त टापु एक संरक्षित क्षेत्र हो र अन्य मानिसहरुलाई त्यसको ५ नटिकल माइल भित्र जान अनुमति छैन ।
पहिले पनि बाहिरका मानिसहरुलाई उनीहरुले हिंसात्मक व्यवहार गरेका घटनाहरु छन् । सन् २००६ मा पनि दुई स्थानीय माझीहरुलाई उनीहरुले मारिदिएका थिए ।
‘प्रभू म मर्न चाहन्न’
अण्डमान र निकोबार टापुका प्रहरी महानिर्देशक देपेन्द्र पाठकका अनुसार चाउले उक्त द्विपमा धेरै पटक अवैध यात्रा गरेका थिए ।
‘उनको डुंगा उक्त टापुको ५०० देखि ७०० मिटर टाढा रोकिन्थ्यो र चाउले त्यहाँबाट टापुको किनारामा पुग्न एक सानो डुंगा लिएर जाने गर्थे । उनी आफूमाथि आक्रमण भएको दिन वाणको घाउहरु लिएर फर्किए र १६ तारिखमा आदिवासीहरुले उनको डुङ्गा फुटाइदिए ।’
‘त्यसपछि उनी आफ्नो डुंगासम्म पौडिएर आए । उनी १७ तारेखमा आएनन् र पछि माझीले आदिवासीहरुले उनको शरीर घिसारिरहेको देखे ।’
त्यतिखेर उनले बोर्डमा आफ्नो परिवारलाई अन्तिम सन्देश लेखेका थिए, ‘तिमीहरुले सोचेको हौला म पागल हुँ तर, यी मानिसहरुलाई जिससको बारेमा जानकारी दिनु यो धेरै महत्वपूर्ण हो’ उनले अन्तिममा लेखेका छन्,‘प्रभू म मर्न चाहन्न ।’
माझीहरुले चाउको शरीर आदिवासीहरुले समुन्द्री किनारामा घिसारेर पछि बालुवामा पुरिदिएको देखेको रिपोर्टहरुको बाबजुद पनि उनकी आमा लिन्डा एडम्स चाउ भने आफ्नो अझै छोरा नमरेको विश्वास गर्छिन् । अझै पनि उनी जिउँदो छ भनेर आफूले प्रार्थना गरिरहेको बताउँछिन् ।
बाहिरियाविरुद्ध आदिवासीको आक्रोश
बाहिरी मानिसहरु प्रवेश गर्न अवैध मानिने टापुमा प्रवेश गर्ने बाहिरियामा चाउ पहिलो व्यक्ति होइनन् जो सेन्टिनेली आदिवासीहरुको शिकार बने ।
आदिवासीहरुको पक्षमा पैरवी गर्ने गैर नाफामूलक संस्था सर्भाइवल इन्टरनेसनलका अनुसार सन् २००६ मा पनि आदिवासीहरले माझीहरुलाई मारिदिएका थिए । ती माझीहरु उत्तरी सेन्टिनेल टापुमा अवैध रुपमा माछा मारिरहेका थिए र उनीहरुको डुंगा टापुको किनारामा थियो।
त्यसको दुई वर्ष पहिले सन् २००४ को विध्वंशकारी सुनामीपछि आदिवासी समूहको एक जना समुन्द्री किनारमा अचेत देखिएपछि उद्धारको लागि पठाइएको हेलिकप्टरलाई उनीहरुले वाण प्रहार गरेका थिए ।
सन् १९८० र ९० को दशकमा यो टापुमा एस्पिडिसनहरु यात्राहरु हुने गर्थे तर अहिले यस्तो कार्य बन्द भएको छ ।
सन् २०११ को भारतीय जनगणना अनुसार टापुमा जम्मा १५ सेन्टिनेलीहरु बाँकी भएको अनुमान गरिएको छ । भारत सरकारले बाहिरी मानिसहरुलाई टापुमा प्रवेश गर्न नदिनको लागि कडा नीति लागु गरेको छ ।