Uncategorized

क्याबिनेटको निर्णय लुकाउनेबारे मन्त्रिपरिषदमा थप छलफल

२९ कात्तिक, काठमाडौं । क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप छलफल थालेको छ । क्याबिनेटको निर्णय लुकाइएको भन्दै सरकारको सार्वजनिक आलोचना बढेपछि आज मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय कसरी र कहिले सार्वजनिक गर्ने भन्नेबारे थप छलफल गर्दैछ ।

‘क्याबिनेटका निर्णयहरु तत्कालै सार्वजनिक गर्ने कि ४८ घण्टापछि सार्वजनिक गर्ने भन्नेबारे आजको मन्त्रिपरिषदमा थप छलफल हुन्छ’ एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘आजको छलफलपछि निर्णय कसरी सार्वजनिक गर्ने भन्नेबारे सरकारले ठोस नीति तय गर्छ ।’

विहीबार दिउँसो बोलाइएको क्याबिनेट बैठकका प्रस्तावहरु बैठकपूर्व मन्त्रीहरुलाई उपलब्ध गराइएको छैन ।

सूचना लुकाउनेबारे मन्त्रीवीच दुईधार

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्ताले मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो । क्याबिनेटका निर्णयहरु तत्काल सार्वजनिक नगरिने सरकारका वक्ता गोकुल बास्कोटाले पत्रकारहरुलाई बताएका थिए । तर, केही मन्त्रीहरुले अनौपचारिक रुपमा भने निर्णयहरुबारे जानकारी दिएपछि मिडियामा समाचार प्रकाशित भएका थिए ।

आइतबारको बैठकले भारत र मलेसियामा नयाँ राजदूत सिफारिसलगायतका निर्णयहरु गरेको थियो ।

यसैवीच आइतबार क्याबिनेट बैठकमा निर्णयहरु सोही दिन सार्वजनिक गर्ने केही मन्त्रीहरुका बारेमा पनि क्याबिनेटमा छलफल हुने एक मन्त्रीले बताए । स्रोतले भन्यो- ‘मिडियालाई खुसुखुसु समाचार दिने मन्त्रीहरुका बारेमा पनि कुरा उठ्छ ।’

सरकारले बैठककका निर्णय सार्वजनिक नगर्ने भने पनि सरकारी मिडिया गोरखापत्रमै ‘मन्त्री थममाया थापाले बताइन्’ भनेर समाचार आएपछि यसबारे छलफल हुन लागेको स्रोत बतायो ।

उच्च स्रोतका अनुसार मन्त्रीहरुवीच क्याबिनेटको निर्णय तत्कालै सार्वजनिक गर्नुपर्छ भन्ने र ४८ घण्टापछि मात्रै सार्वजनिक गर्नुपर्छ भन्ने दुई धारहरु देखा परेका छन् ।

यसैवीच सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गर्न भन्दै मन्त्रालयमा अपराह्न ४ बजे पत्रकार सम्मेलन डाकेका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *