Uncategorized

जर्मनीबाट आशिकाको प्रश्न : ‘खसिनी’ भन्दा किन आपत्ति ?

दुई वर्षअघि फिल्म ‘सुश्री’ मा नायिका बन्दा नपाएको चर्चा आशिका तामाङले करिब २ मिनेटको ‘खसिनी भिडियो’ बाट पाइन् । फलस्वरुप फेसबुकमा एक हप्ताभित्र उनका एक लाखभन्दा बढी फलोअर्स थपिएका छन् ।

यद्यपि, उनी यो चर्चामा त्यति खुशी भने छैनन् । खुशी नहुनुको कारण हो, यो भिडियोलाई लिएर उनको प्रशंसाभन्दा बढी मजाक भइरहेको छ । कतिपयले उनलाई भाइरल हुने नाममा ‘नौंटंकी’ गरेको आरोप लगाएका छन् त कतिले उनले बोलेका शब्दहरुलाई उछालेर ख्यालठट्टा गरिरहेका छन् । उनको भिडियोमाथि प्यारोडी भिडियो पनि बनेका छन् ।

जर्मनीमा रहेकी आशिकाले समाजलाई राम्रो सन्देश दिन खोज्दा आफूमाथि मजाक गरिएको गुनासो गरिन् ।

‘होला, मेरो बोल्ने ढंग अलिकति मिलेन होला,’ आशिकाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘तर, मैले जे बोलेकी छु, मनदेखि बोलेकी हुँ, मेरो आँशु नक्कली होइन, भावुकतावस खसेको हो ।’

यसरी बन्यो भिडियो

आशिकाले यो भिडियो आफ्नो फेसबुकको फ्यानपेजमा पोष्ट गरेकी थिइन् । यहाँबाट झिकेर कसैले ‘टिकटक’मा हालिदियो र उनी भाइरल बनिन् ।

भिडियोमा उनले दशैंमा ‘घरवारविहीन’ पशु मात्र बध गर्न आग्रह गरेकी छन् । यसै क्रममा उनले ‘खसी-खसिनी’ भन्ने शब्दसमेत प्रयोग गर्छिन् । यही शब्दलाई लिएर उनी ट्रोल भइरहेकी छन् ।

यो भिडियो किन र कसरी बनाइन् त उनले ? त्यो सुनाउनुअघि उनले आफ्नो विगत कोट्याइन् ।

‘म सानै हुँदा आमा बित्नुभयो । त्यसपछि बुवाले अर्की आमा बिहे गर्नुभयो । उहाँले नै मलाई हुर्काउनुभएको हो । सानो छँदा मैले एउटा कुखुरा पालेकी थिएँ । यो कुखुरा मेरो साथी जस्तै थियो । सधैँ मलाई पछ्याउँथ्यो । स्कुल जाँदासमेत म यसलाई आफ्नो फ्रकभित्र लुकाएर लैजान्थेँ ।

तर, एउटा दशैंमा अर्की आमाले मलाई नसोधि यो कुखुरा काटिदिनुभएछ । मलाई अति नराम्रो लाग्यो धेरै दिन रोएँ पनि । आफ्नो मिल्ने साथी गुमाएको महसुस भयो ।

अहिले जर्मनीमा छु । केही दिनअगाडि मेरो गाउँकी साथीले फोन गरिन् । दशैंको विषयमा कुराकानी भयो । यही सन्दर्भमा उनले मेरो त्यो कुखुरा काटिएको कुरा झिकिन् । मलाई पुरानो घाउ कोट्याए झैं भयो । मेरो आँखाबाट अनायाश आँशु झर्‍यो ।

त्यसपछि नै मैले दशैंमा पशुवध गर्नेहरुका लागि सन्देशमुलक भिडियो बनाएकी हुँ । भिडियो खिच्दा म साह्रै भावुक भइरहेकी थिएँ । त्यही बच्चाबेलाको साथी कुखुरा मेरो दिमागमा खेलिरहेको थियो । आँखाबाट आँशु आउन थाल्यो । आफूलाई सम्हाल्नै सकिनँ । अहिले कतिपयले मैले प्याज काटेर नक्कली आँशु झारेको आरोप लगाउँदा साह्रै चित्त दुखेको छ ।’

‘खसिनी’ को प्रादुर्भाव

आशिकाले प्रयोग गरेको ‘खसिनी’ शब्दलाई लिएर धेरैले अनुमान गरेका छन् कि उनी शहरमा जन्मे-हुर्केैकी होलिन् र घरपालुवा जनावरहरुको बारेमा उनलाई केही थाहा छैन होला । तर, उनी गाउँमै जन्मे-हुर्केकी हुन् । धादिङको मलेखुमा उनको जन्म भएको हो ।

त्यस भए खसिनी शब्द कसरी निस्कियो उनको मुखबाट ?

आशिका भन्छिन्,, ‘हामी सानोमा साथीहरुसँग विभिन्न घरपालुवा जनावरहरुको अभिनय गरेर खेल्थ्यौैं । कोही कुखुरा कुखुरिनी बन्थ्यौं, कोही बाख्री बाखि्रनी, कोही खसी-खसिनी बन्थ्यौं । त्यो बेला नै प्रयोग गरेको खसिनी शब्दले मेरो जिभ्रोमा बसेको रहेछ । यही शब्दलाई लिएर मेरो खेदो गर्नुपर्छ जस्तो लाग्दैन । डाक्टरको स्त्रीलिंगी डाक्टरनी, मन्त्रीको मन्त्रिनी भनेजस्तै खसीको स्त्रीलिंगी खसिनी भन्दा किन आपत्ति ?’

भिडियो भाइरल भएपछि

आशिकालाई पटक्कै लागेको थिएन कि यो भिडियो यसरी भाइरल बन्ने छ । जब भिडियो सामाजिक सञ्जालमा चर्चित बन्यो, फेसबुकमा उनका फलोअर्स ह्वात्तै बढ्यो ।

‘मैले चर्चामा आउने उद्देश्यले यो गरेकी होइन, समाजलाई सन्द्येश दिनका लागि हो,’ आशिका भन्छिन् ।

एउटा मात्रै फिल्ममा अभिनय गरे पनि फेसबुकमा आशिकाका पाँच लाख फलोअर्स थिए । अहिले केही दिनमै एक लाख थपिएर ६ लाख पुगेका छन् ।

आशिका भन्छिन्, ‘पहिले म्यासेज पठाउँदा रिप्लाई पनि नगर्नेहरु अहिले आफैं बोल्न आउँछन्, अचम्म लागिरहेको छ ।’

भिडियोलाई मजाक बनाइएपछि डिलिट गर्ने सोच पनि आएको तर, धेरैले डिलिट नगर्न सुझाव दिएको उनले बताइन् ।

‘अब त मैले डिलिट गरेर पनि के हुन्छ र लाखौंले हेरिसके,’ उनी भन्छिन् ।

फिल्ममा फर्किने योजना

आशिकालाई सानैदेखि कलाकार बन्ने सौख थियो । आफ्नो सौख पूरा गर्न दुई वर्षअगाडि ‘आशिका फिल्म्स’ को ब्यानरमा उनले ‘सुश्री’ निर्माण गरिन् र हिरोइन पनि आफैं बनिन् । यो फिल्ममा उनको अपोजिटमा आर्यन सिग्देल थिए ।

तर, अहिले यो फिल्मको विषयमा कुरै गर्न चाहन्नन् आशिका ।

‘भो, यो फिल्मको बारेमा कुरै नगर्नुस, म सम्झिनै चाहन्न,’ उनले भनिन् ।

शिवम् अधिकारीले निर्देशन गरेको यो फिल्म राम्रै बनेको थियो, तर व्यवसायिक रुपमा असफल भयो । त्यसपछि उनी एक जर्मन नागरिकसँग बिहे गरेर जर्मनी गइन् । त्यसअघि उनले नेपालमा स्टाफ नर्सको पढाइ पूरा गरेकी थिइन् ।

जर्मनीमा अहिले दुई वर्षको छोरा हुर्काएर बसिरहेकी छन् आशिका । यद्यपि, कलाकारितामा उनको धीत अझै मरेको छैन ।

बच्चा जन्माएपछि बिगि्रएको शरीरलाई फेरि सेपमा ल्याउन उनी कठोर एक्सरसाइज गरिरहेकी छन् । आगामी मंसिरमा नेपाल आउने तयारीमा रहेकी उनी फेरि फिल्म निर्माण गर्ने बताउँछन् ।

‘पहिलो फिल्म निर्माण गर्दा मैले धेरै कुरा सिकेँ, अब राम्रो तयारीका साथ व्यवसायिक फिल्म निर्माण गर्नेछु,’ उनले भनिन् । यो फिल्ममा हिरोइन आफैं बन्ने वा नबन्ने भनेर चाहिँ उनले निर्णय लिइसकेकी छैनन् ।

मासु छोड्न गाह्रो

भिडियो भाइरल भएपछि आशिकाले मासु खाइरहेको तस्वीरसमेत बाहिर आएको छ । यसलाई लिएर उनलाई धेरैले ‘आफू मासु छोड्न नसक्ने अनि अरुलाई पशुवध नगर्न उपदेश दिने’ भनेर आलोचना गरेका छन् । आशिका भने आफूले चाहेर पनि मासु छोड्न नसकेको बताउँछिन् ।

‘मलाई अब मासु छोड्नुपर्छ भन्ने लागेको छ, तर अहिले हेभी एक्सरसाइज गरिरहेको हुनाले शरीरलाई प्रोटिन नभई हुँदैन । त्यसैले बाध्यतावस खाइरहेकी छु,’ उनले भनिन्, ‘भविष्यमा छोड्ने सोचाई छ ।’

‘मासु खाए पनि मैले आफैं पशुवध त गरेको छैन नी,’ उनले थपिन् ।’

हेर्नुहोस् आशिकाको भिडियो

[youtube https://www.youtube.com/watch?v=94hmVlIHt70?rel=0]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *