११ कात्तिक, काठमाडौं । दोस्रो संस्करणको निर्माण मेला आगामी मंसिर ६ देखि ९ गतेसम्म हुने भएको छ । नवीनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैठाउँमा जानकारी दिने उद्देश्यले काठमाडाैंकाे भृकुटीमण्डपमा ‘बिल्डिङ तथा कन्ट्रक्सन एक्स्पो २०७५’ आयोजना हुने भएको हो ।
सुरक्षित तथा दिगो निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित युथ कम्युनिटि फर नेप्लिज कन्ट्र्याक्टर्सको मुख्य आयोजना हुने मेलामा निर्माण क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि प्रदर्शन हुनेछन् ।
ल्यान्ड हाउसिङ, पेन्टस्, इन्टेरिएर डिजाइन, सिमेन्ट, फर्निचरलगायत कम्पनीको सहभागिता हुने आयोजकले जनाएको छ । २ सय भन्दा बढी स्टलर रहने मेला २ लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
मेलाको सह-आयोजकमा नेपाल ईञ्जिनियर्स एशोसिएसन (एनइए), सोशाईटी फर आर्किटेक्ट्स (सोना) सोशाईटी आर्किटेक्ट्चरल एण्ड ईञ्जिनियरिङ फर्म (स्काफ) र ब्राण्डवर्थ प्राईभेट लिमिटेड रहेका छन् ।
मेलाको मुख्य प्रायोजक अर्घाखााची सिमेन्ट, पेन्ट्स पार्टनर बर्जर पेन्ट्स र प्रायोजकमा लक्ष्मी देवी बिल्डिङ मटेरियल्स रहेको छ । मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ ।
मेलाका क्रममा सेमिनार, कार्यपत्र प्रस्तुती, प्रश्नोत्तर तथा निःशूल्क परामर्शको पनि व्यवस्था गरिएको छ । भूकम्पीय जोखिम रहेको नेपालीले मेलाबाट उल्लेख्य फाइदा उठाउन सक्ने आयोजकको दाबी छ ।



