Uncategorized

आईसीपी जोड्ने सडकको कालोपत्रे सात महिनामै उप्कियो

५ मंसिर, वीरगञ्ज । वीरगन्जमा सञ्चालित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ७ महिनामै आईसीपीसम्म पुग्ने सडकको कालोपत्रे उप्किएको छ ।

निर्माण कम्पनीले कमशल निर्माण सामाग्री प्रयोग गरेका कारण् कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।

आईसीपीलाई मूल सडकमा जोड्ने उत्तरतर्फको १ हजार १ सय मिटर सडकको कालोपत्रे भत्किएको छ ।

भारत सरकारको सहयोगमा भारतीय ठेकेदार कम्पनी केएस सफ्टनेट सोलुसन्स प्रालिले निर्माण गरेको आईसीपीको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट २०७४ चैत २४ गते संयुक्त रुपमा उद्घाटन गरेका थिए । हस्तान्तरण भएको एक वर्षसम्म आईसीपीमा निर्माण गरिएको सम्पूर्ण भौतिक पूर्वाधारमा समस्या आए वा कमजोरी देखिए त्यसलाई सुधार्ने जिम्मा ठेकेदार कम्पनीकै रहेको छ । तर उसल उप्किएको कालोपत्रे मर्मत गरेको छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिले आईसीपी सञ्चालन गरिरहेको छ । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका वीरगन्ज प्रमुख हेमेन्द्रमोहन शाही सडक फुटेको जानकारी निर्माण कम्पनीलाई गराइसकेको बताउँछन् ।

‘पीच भत्केको छ । प्राविधिक विषय भएकोले किन भत्केको भन्ने हामीलाई थाहा हुने कुरै भएन । एक वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्ने जिम्मा भएकोले उनीहरुलाई जानकारी गराएका छौं’ उनले भने ‘अलकत्रा नआएर समस्या भएको हो, आएपछि निर्माण गर्छौ भनेका छन् ।’

आईसीपी सञ्चालनमा आइसकेपछि समेत निर्माण कम्पनील एकपटक सडकखण्ड कालोपत्रे गरेको भए पनि भत्केको उनको भनाइ छ । ठेकेदार कम्पनी केएस सफ्टनेट सोलुसन्स प्रालिका महाप्रबन्धक सुभाषचन्द्र दासले भत्केको सडकलाई पुनः पीच गर्न कम्पनी तयार रहेको बताए । ८० टन भार वहन क्षमता भएको सडकखण्डमा ओभरलोड बोकेर सवारी गुड्ने गरेका कारण समेत समस्या आएको उनको भनाइ छ ।

कालोपत्रे गर्दा सडकको तलको भागमा रहेको पक्की सडकलाई रफ बनाएर माथिल्लो भाग कालोपत्रे गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले त्यसो नगरी कालोपत्रे गरिसकेको सडकमाथि कालोपत्रे गरेका कारण भत्किएको प्राविधिकहरु बताउँछन् । ठूला गाडीहरु सडकमा नै पार्किङ गर्ने, सडकमा डिजेल, पेट्रोल जस्ता पेट्रोलियम पदार्थहरु पोखिने कारणले पनि कालोपत्रे भत्किएको दास बताउँछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *