Uncategorized

कांग्रेसको विरोधपछि वाइडबडी खरिदबारे छलफल गर्न लेखाले बोलायो पर्यटनमन्त्री

४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दावी गर्दै छानबिन गर्न माग गरेको छ ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडवडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दावी गर्दै छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गरेका हुन् ।

मंगलबार बसेको समितिको बैठकमा उनले ५० औं वर्षसम्म मुलुकलाई आर्थिक भार पर्ने गरी विमान खरिदमा अनियमितता भएको सबै सञ्चार माध्यमले उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई छानबिनको दायरामा ल्याउन आफ्नो पार्टीको जोडदार माग गरेको पनि समितिलाई जानकारी गराए ।

कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको नेता रिजालको भनाइ छ । नेता रिजालले अनियमितताको आरोप लागेको सो विषयमा समिति चुप लागेर बस्न नहुने धारणा समेत राखे । निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट नौं प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुई वटा वाइडबडी विमान खरिद गरेको थियो ।

यसैबीच, सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिका सभापति भरतकुमार शाहले सो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई आगामी आइतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिए ।

समितिको मंगलबारको बैठकमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सो सम्बन्धमा छलफल गर्न माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आइतबार समितिको बैठकमा बोलाएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र निगम पदाधिकारीलाई पनि बोलाउने समितिले जनाएको छ ।

समितिका सभापति शाहले व्यवस्थापन पार्टनर खोजेर मात्रै विमान खरिद गर्न तत्कालीन सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरीत काम गरेको भन्दै निगमको आलोचना पनि गरेका थिए ।

समितिको मंगलबारको बैठकमा चिनीलगायतका दैनिक उपभोग्य वस्तुको बजार मूल्य नियन्त्रणसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *