Uncategorized

पुल निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन

३ मंसिर, तनहुँ ।  तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।

ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ ।

पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर, ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताए ।

पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनले बताए । ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

पुलको हालसम्म दुवैतर्फको पिल्लरमात्र उठेको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिए ।

उनले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने प्रक्रिया शुरु हुने जानकारी दिए ।

ढिलाइप्रति सांसदको चासो 

यसैबीच पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् ।

सांसद सिग्देलले पुलको निरीक्षण गर्दै विकासमा निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र उक्त पुल प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले बजेट अभाव नहुने आश्वासनसमेत दिए ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले निर्माण व्यवसायीको केही कमजोरीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्दै अब धमाधम काम शुरु हुने बताए ।  उनले वर्षा अगाडि नै पुलको ढलान गरिसक्नेसमेत बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *