Uncategorized

विराटनगर विमानस्थलको एयरदुरीमै ११० मिटरको भ्यूटावर बन्दै

२ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले कानुनी प्रावधान मिचेर विराटनगर विमास्थल नजिकै भ्यूटावर निर्माण कार्य अघि बढाएको छ ।

विमानस्थलको पेरिफेरिमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधान छ । तर, महानगरले भ्यूटावर निर्माणको काम अघि बढाइसकेको छ ।  यसले अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि अप्ठेरो पर्नेछ ।

महानगरका मेयर भीम पराजुलीले ठूला जहाज अवतरणमा आवश्यक एयरदुरी भित्र पर्ने भ्यूटावर निर्माणको विषयमा प्राधिकरणले गरेको पत्राचारलाई समेत बेवास्ता गरेका छन् ।

विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले ठूला जहाज अवतरणमा आवश्यक एयरदुरी भित्र पर्ने भ्यूटावर निर्माणको विषयमा महानगरले प्राधिकरणले गरेको पत्राचारलाई समेत वास्था नगरेको बताए ।

नागरिक उड्डयन कार्यालयले एयर ट्राफिकिङ्गको समस्या बारे जानकारी गराउँदासमेत महानगरले भने ११० मिटर उचाइको संरचना बनाउन शिलन्यास गरेको थियो । नागरिक उड्डयन कार्यालयका प्रमुख सिटौलाले भने, ‘एयर ट्राफिकिङ्गलाई असर पार्ने गरी महानगरको योजनामा बन्ने भ्यूटावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ ।’

विमानस्थलको एयर दुरी भित्र पर्ने भएकोले जहाज अवतरणमा असजिलो हुने यो क्षेत्र उत्तर-पूर्वी भागमा पर्दछ । ‘जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण मानिन्छ यो क्षेत्रमा यस्ता अग्ला संरचना तयार गर्न प्राविधिक रुपमा मिल्दैन,’ प्रमुख सिटौलाले भने ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १८ कात्तिकमा विराटनगर ३ मा बन्ने भ्यूटावरको शिलन्यास गरेका थिए । जुन भ्यूटावर विमानस्थलको एयरदुरी भित्र पर्दछ ।

भ्यूटावर निर्माण सम्पन्न भएको अबस्थामा ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदुरीलाई यसले समस्या पार्ने प्राधिकरणले जनाएको छ ।

प्राविधिकहरुका अनुसार ठूला जहाजले ४-५ नटिकल -१ नटिकल माइलमा १८५० मिटर) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । जब कि भ्यूटावर बन्ने स्थान र विमानस्थलको दुरी एककिलोमिटर भित्रै पर्दछ ।

विमानस्थल पेरिफेरिमा निर्माण हुन लागेको भ्यूटावरको काम तत्काल रोकिनु पर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचारसमेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ भने दिएको छैन ।

अन्तरदेशीय उडान भर्ने गरी विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यही पेरिफेरिमा भ्यूटावरको शिलन्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई अˆठ्यारो परेको प्रमुख सिटौला बताए ।

महानगरले भ्यूटावर बनाउने भनेर विमानस्थल प्रशासनलाई जानकारी दिदैं यसको असर बारेमा जानकारीसमेत नलिएको बताए ।

विमानस्थलले एयर ट्राफिकमा असर पुग्ने भएको जानकारी कार्यालयले दिएपनि महानगरले भने आसपासको क्षेत्रमा भ्यूटावर निर्माणको लागि शिलन्यास गरेर काम थालिएको बताउँदै आएको छ ।

महानगरका प्रमुख पराजुलीले भने आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनी पहिले नै बुझेको बताउँदै असर नगर्नेमा ढु्क्क रहेको दावी गरे । उनले आफूले प्राविधिक तथा विज्ञसँगसमेत परामर्श गर्दा जहाज उड्ने र बस्ने क्षेत्र भित्र नपर्ने भएकोले समस्या नहुने दावी गरेका छन् ।

महानगरले विराटनगर-३ स्थित दुधफारममा ४ अर्बको लगानीमा ११० मिटर आग्लो भ्यूटावर निर्माण गर्ने तयारी गरेको छ । भ्यूटावरको निर्माण गर्ने भनेपछि यसको सर्बत्र आलोचना हुँदै आएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *