Uncategorized

सुरु भयो राजदूतलाई फिर्ता बोलाउन प्रक्रिया, कोको छन् लिस्टमा ?

२९ कात्तिक, काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । थापाको फिर्तीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले नियुक्ति गरेका राजदूतहरु फिर्ता बोलाउने प्रक्रियाको शुभारम्भ मात्र भएको एक मन्त्रीले बताए ।

फिर्ता बोलाइएका राजदूत थापा पूर्वमन्त्री तथा राप्रपाका नेता हुन् ।

थापाको स्थानमा अन्जान शाक्यलाई सिफारिस गरिएको छ । राजदूतमा सिफारिस थापा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘किचन क्याबिनेट’की सदस्य पनि हुन् ।

थापासँगै सरकारले अन्य केही राजदूतलाई पनि फिर्ता बोलाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्ववर्ती सरकारले नियुक्त गरेकै आधारमा सबैलाई फिर्ता नगरिने तर, कामको मूल्यांकन गरेर फिर्ता हुन सक्ने बताए ।

सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई कार्यकाल पूरा हुन दुई महिनामात्र बाँकी रहँदा फिर्ता बोलाउनुको कारण अझ महत्वपूर्ण जिम्मेवारी दिनु भएको बताइएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले खाली भएका ठाउँमा राजदूत नियुक्ति गर्ने र कार्य सम्पादन हेरेर फिर्ता बोलाउने प्रक्रिया शुरु भएको बताए । उनले व्यक्तिको आस्था हेरेर नहटाइने पनि दाबी गरे ।

स्रोतका अनुसार अब कतारका लागि राजदूत रमेश कोइरालालाई फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।

राजदूत सिफारिस हुँदा नै विवादमा परेका उनले अझै म्यानपावर ब्यवसाय चलाएको गुनासो बढेको अधिकारीहरु बताउँछन् । उनी तत्कालीन श्रममन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङका म्यानपावर व्यवसायका साझेदार हुन् ।

त्यस्तै स्पेनका भरत रायमाझीको पनि धेरै गुनासो आएको भन्दै उनलाई फिर्ता बोलाउने तयारी सरकारको छ ।

एकैपटक सबैलाई फिर्ता बोलाउने भन्दा नयाँ राजदूत समेत तयार गरेर आवश्यकताका आधारमा फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने प्रक्रिया सँगै जाने स्रोतले बतायो ।
दक्षिण कोरियाका लागि राजदूत अर्जुनजंग बहादुर सिंहलाई पनि फिर्ता बोलाउन लागिएको छ ।

तर, कांग्रेस र राप्रपा कोटाबाट राजदूत भएका जापानकी प्रतिभा राणा, ओमानकी शर्मिला पराजुली र श्रीलंकाका डा.विश्वम्भर प्याकुरेललाई तत्काल फिर्ता गरिने सम्भावना छैन ।

राजदूत राणा राप्रपा नेतृ तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाकी सासु समेत हुन् । यद्यपि उनको कार्यसम्पादन शून्य रहेको र गुनासो आएको परराष्ट्र स्रोतले जनाएको छ ।

पराजुलीको पहुँच सिधै बालुवाटारमा रहेकाले उनलाई फिर्ता गर्न नसकिने र प्याकुरेल बौद्धिक व्यक्ति भएकाले उनलाई फिर्ता नगरिने स्रोतले जनाएको छ ।

म्यानपावर व्यवसायीलाई राजदूत बनाएको भन्दै पराजुलीको चर्को विरोध भएको थियो । तर, तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष एवं हाल कांग्रेस उपसभापति विजयकुमार गच्छदारको जोडबलमा उनी राजदूत बनेकी थिइन् ।

यसबाहेक बंगलादेशका डा. चोपलाल भुसाल पनि फिर्ता बोलाइने लिष्टमा छन् भने म्यान्मारका भीम उदासले आफूलाई नहटाउन लबिङ बलियो बनाएका छन् ।

फिर्ता बोलाइने र परराष्ट्रका सहसचिवहरु कार्यकाल पूरा गर्ने कुटनीतिक नियोगहरुमा करिअर डिप्लोम्याट र परराष्ट्र सेवा बाहिरबाट बराबरी संख्यामा राजदूत पठाइने मन्त्री ज्ञवालीले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *