२१ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका डाइभरटोलमा बस्दै आएको गुप्ता परिवारलाई अहिले भ्याइनभ्याई छ । ५२ वर्षदेखि फूलको व्यवसाय गर्दै आएको यो परिवारलाई अहिले तिहारका कारण चटारो बढेको हो ।
२०२२ सालमा स्व. रघुनाथ गुप्ताले नर्सरी व्यवसाय सुरु गरेका हुन् । रुपन्देहीमा सबैभन्दा पहिला यो व्यवसायमा हात हालेका उनले थुप्रैलाई विरुवा रोप्न सिकाए र प्रेरणा दिए । उनले सुरु गरेको व्यवसायलाई परिवारको तेस्रो पुस्ताले पनि निरन्तरता दिइरहेको छ ।
पुष्प खेती र नर्सरी व्यवसायमा यो परिवारको लगाव अनुकरणीय छ । डाइभरटोलमा ५ कट्ठा जग्गामा फुल रोपेर रघुनाथले व्यवसाय थालेका थिए । अहिले डाइभरटोलसहित मणिग्राम, ठुटिपिपल, भैरहवा र पाल्पाको मदनपोखरासम्म गरी ५ बिघामा उनीहरुको नर्सरी छ । रघुनाथका ६ भाइ छोराहरु विनोद, शम्भु, राजेन्द्र, राजेश, सुरज र अर्जुन सबैजनाले सगोलमै नर्सरी व्यवसाय सञ्चालन गरिरहेका छन् ।
रघुनाथका नातिहरु अजय, बिक्की, आशिष, अनिष पनि नर्सरी व्यवसायमै संलग्न छन् । रघुनाथका नाति अजयले त बेलायतको लण्डनस्थित कलेजमा नर्सरी डिजाइनिङ र व्यवस्थापनमा डिप्लोमा र एमबीए अध्ययन गरेर फर्केका छन् ।
हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको नर्सरीमा फूल र अन्य गरी डेढ सय जातका विरुवा उत्पादन हुन्छन् । परिवारका एक सदस्य सुरज गुप्ताका अनुसार सिजनल फूल ७० जात, बाह्रमासे फूल ५० जात, शो प्लान्ट २० जात र फलफूलका १५ जातका विरुवा यो नर्सरीमा लगाइएको छ । नर्सरीले फूल र विरुवा उत्पादनसँगै पुष्प व्यवसाय र नर्सरीसम्बन्धी परामर्श सेवा र रिसर्च (अनुसन्धान) तथा ठूला होटल, रिसोर्ट, सरकारी-गैरसरकारी कार्यालयहरुमा गार्डेनिङ पनि गरिरहेको छ ।
गुप्ता नर्सरीले तराईमा लोप हुन लागेको अम्बालाई अन्वेषण र विकास गरेको छ भने सिन्दुरे आँप, सुन कागती, मेवाको पनि विरुवा उत्पादन गरिरहेको सुरजले जानकारी दिए । नर्सरीले कुन स्थानमा कुन जातका विरुवा र फलफूल लगाउन उपयुक्त हुन्छ भनेर स्थानीय तहका सरकार तथा विभिन्न संघसंस्थालाई परामर्श समेत दिने गरेको छ ।
पुष्प र नर्सरी व्यवसायमा गुणस्तरीय काम गरेको मूल्यांकन गर्दै यो नर्सरीलाई सन् २००३ मा स्वीजरलयाण्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेसनल गोल्ड स्टार अवार्ड प्रदान गरेको थियो । यसैगरी फ्लोरिकल्चर एसोसिएसन नेपालले २०६४ सालमा कदरपत्रले प्रदान गरेको थियो । विभिन्न औद्योगिक तथा व्यापारिक मेलाहरुमा स्टल सजावट र उत्पादनको मूल्यांकनका आधारमा यो नर्सरी प्रथम, द्वितीय हुँदै आएको छ ।
फूलको बढ्दो माग र मौसमको प्रतिकूलताका कारण अब हाइटेक प्रविधिमा जाने सोच बनाइएको शम्भु गुप्ताले बताए
सयपत्री फूलको माला ५० रुपैयाँमा
गुप्ता नर्सरीले तिहारमा ५० रुपैयांमै सयपत्री फूलको माला बेच्न थालेको छ । नर्सरीले पाल्पामा उत्पादन गरेको सयपत्री फूललाई रुपन्देहीको डाइभरटोलस्थित नर्सरीको मुख्य कार्यालय र बुटवलमा समेत स्टल राखेर बेच्ने जनाएको छ । बुटवलको बजारमा फूलको मालाको न्युनतम मूल्य अहिले एक सय रुपैयाँसम्म पर्छ ।
यस वर्षदेखि नर्सरीले लागत मूल्यमै माला उपलब्ध गराउने अजय गुप्ताले बताए । नर्सरीले योपटक दुई हजार माला ५० रुपैयांभन्दा कम मूल्यमा बेच्दैछ । ब्यापारीलाई पनि ५५ रुपैया भन्दा बढीमा विक्रि नगर्ने शर्तमा मात्र दिने शम्भु गुप्ताले बताए । फूलको माला अचाक्ली महंगो हुंदा सर्वसाधारणले कृत्रिम माला प्रयोग गर्न वाध्य भएकाले सर्वसुलभ दरमा उपलब्ध गराउन थालेको उनको भर्नाइ छ ।
सरकारले हाइटेक प्रविधिमा पुष्प खेती गर्न प्रविधि भित्राउन सहयोग गरेमा आफ्नो नर्सरीले ५ नम्बर प्रदेशलाई फूलमा आत्मनिर्भर गराउन सक्ने गुप्ता परिवारको दावी छ ।
तिहारमा मात्रै करिब २० करोडको फूल भारतबाट आयात हुने गरेको फ्लोरिकल्चर एशोसिएसनका प्रदेश ५ संयोजक रमेश पाण्डे बताउँछन् ।



