Uncategorized

कर्मचारीले नेतालाई आफूजस्तै बनाएः प्रचण्ड

२१ कात्तिक, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए देश अँध्यारोमा फस्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने बताएका हुन् ।

संघीयतालाई जसरी पनि असफल हुन नदिई प्रभावकारी बनाउने पर्ने बताउँदै उनले भने, ‘प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुन्छ, त्यसैले प्रदेश सरकारलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ, नत्र देशै अँध्यारोमा फस्छ ।’ प्रचण्डले संविधानले प्रदेशलाई प्रभावकारी रुपमा रहने भनेर स्पष्ट भनेको भन्दै त्यसमा आशंका नगर्न आग्रह गरे ।

‘ब्यूरोक्रेसीले नेतालाई आफूजस्तै बनायो’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाइ थियो ।

उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएपछि पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसाथ गर्ने कर्मचारी ल्याइन्छ, तर नेपालमा त्यस्तो छैन, बरु नेपालमा त ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूजस्तै बनाउँछ र नयाँ प्रणाली असफल बनाउँछ ।’

कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए ।

‘सरकारलाई असफल भन्न मिल्दैन’

प्रचण्डले ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।

वर्षाको बेला भएका खाल्डाखुल्डी पुर्न र बाटो निर्माणमा केही ढिलासुस्ती भएपनि अब चाँडै ति काम पनि हुने उनको भनाइ छ । उनले नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्न सफल भएको भन्दै यो सफलता वर्तमान सरकारकै कारण भएको उल्लेख गरे ।

नेकपा अध्यक्ष प्रचण्डले सरकारले गियर बदल्ने बेला आएको दोहो¥याए । यद्यपि उनले सरकारको गियर बदल्ने भनेको पुराना मन्त्री हटाएर नयाँ मन्त्री बनाउने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘गियर बदल्ने भनेको मन्त्री हटाउने भनेको होइन, गति बढाउने हो ।’

सरकारले अब तुरुन्तै गियर बदल्ने घोषणा गर्दै उनले भने, ‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे–जे समस्या छ वा त्यस्ता केही नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर भएपनि पूरा गरिन्छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *