Uncategorized

खिचातानीले ३३ लाखको नमूना शौचालय अलपत्र

२० कात्तिक, चितवन । झण्डै ३३ लाख रुपैयाँ खर्चिएर राप्ती नगरपालिका–७, वीरेन्द्रनगर चोकमा निर्माण गरिएको नमूना शौचालय सञ्चालन नहुँदै अलपत्र बनेको छ ।

वीरेन्द्रनगर आर्दश माविको जग्गामा विद्यालय, श्री साना किसान कृषि सहकारी संस्था, तत्कालीन वीरेन्द्रनगर गाविस र साविक जिविस चितवनको सहयोगमा निर्माण गरिएको शौचालय संस्थाहरुको आपसी खिचातानीका कारण अलपत्र बनेको हो ।

शौचालयका झ्यालका सिसा फुटेका छन् भने भित्र लगाइएका टायल पनि तोडिएका छन् । शौचालय पछाडि वीरेन्द्रनगर चोक वरपर थुप्रिएको फोहर ल्याएर जलाउने गरिएको छ । माकुराको जालोले शौचालय ढाँकिएको छ ।

पूर्व–पश्चिम राममार्गमा यात्रा गर्ने यात्रुहरुलाई नुहाउनसमेत मिल्ने गरी रिफ्रेसिङ सेन्टरका रूपमा चलाउने योजनासहित शौचालय निर्माण गरिएको थियो । शौचालय विगत ४ वर्षदेखि यतिकै अलपत्र छ । वडा नं. ७ कि वडाध्यक्ष सुमित्रा डल्लाकोटीले शौचालय सञ्चालन गर्ने विषयमा विद्यालय र सहकारीसँग कुराकानी भइरहे पनि अझै सञ्चालन गर्न नसकिएको बताइन् ।

‘मैले वडाध्यक्ष निर्वाचित भएदेखि नै यसलाई सञ्चालनमा ल्याउने र जिम्मा एउटा संस्थाले लिन निर्णय गराउन खोजे, तर प्रयासले सार्थकता पाएको छैन’, वडाध्यक्ष डल्लाकोटीले भनिन्, ‘नगरपालिकाको मेयरलाई पनि समस्याको बारेमा जानकारी गराएको छु, कति रकम लाग्छ वडाबाट हालेर भने पनि सञ्चालन गर्न तयार छु ।’

श्री साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले पुसमा बस्ने सहकारीको साधारणसभा पछि शौचालय सञ्चालन सम्बन्धी निर्णय गरिने दाबी गरे । अहिलेसम्म किन सञ्चालन गर्न सक्नुभएन भन्ने प्रश्नमा अध्यक्ष पौडेलले कसले सञ्चालन गर्ने भन्ने नटुंगिदा अन्योल बढेको बताए ।

स्थानीय भुवन दुलालले जनताको लगानीबाट चोकमा निर्मित शौचालय अलपत्र हुँदा नगरपालिकाकै बेइज्जत भएको बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *