Uncategorized

खारेज भएका सरकारी कार्यालय बोर्ड फेरेर सदरमुकाममै

१६ कात्तिक, सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयहरु साउन १ देखि नै स्थानीय तहमा गाभिने र सबै कर्मचारीहरु स्थानीय तहमा समायोजन हुने चौतर्फी हल्ला थियो । स्थानीय तहमा पर्याप्त कर्मचारी नभएपछि जनप्रतिनिधिहरुले खारेज हुने सरकारी कार्यालयका कर्मचारीहरुलाई छिटो स्थानीय तहमा पठाउन अनुरोध पनि गरे ।

जिल्लाका १२ तहका प्रमुखहरुले त ७ दिनभित्र खारेज भएका कार्यालयका कर्मचारीहरु स्थानीय तहमा जानुपर्ने र सबै कार्यालयका सामग्रीहरु नबुझाए तालबन्दी गर्ने चेतावनी समेत दिए ।

जिल्लाका सरकारी कार्यालयहरु खारेज गर्ने भने पनि विभिन्न नाम राखेर यसअघिका भन्दा बढी कार्यालयहरु सदरमुकाममा नै राखेपछि भने गाउँ–गाउँमा सिहंदरबारको नारा अलपत्र परेको छ ।

सदरमुकाममा रहेका महिला विकास कार्यालय, वन, घरेलु, शिक्षा, पशु, जनस्वास्थ्यलगायतका १७ बढी कार्यालयहरु खारेज हुने संघीय सरकारले निर्णय गरेको थियो । तर, अहिले भने जिल्लामा रहेका महिला विकास कार्यालयबाहेक अन्य सबै सरकारी कार्यालयहरु विभिन्न नामबाट सदरमुकाममा नै राखिएको छ ।

म्हिला विकास कार्यालय खारेज भएपछि अहिले महिला विकास कार्यालयको सुविधासम्पन्न भवनमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले क्वाटरको रुपमा प्रयोग गर्न शुरु गरेका छन् । महिला विकास कार्यालयलगायत अन्य सबै सरकारी कार्यालयहरु भने जिल्लामा नै रहेने निश्चित भएको छ । कतिपय सरकारी कार्यालय प्रदेश सरकार मातहातमा रहने भएको छ भने केही केन्द्रीय सरकार मातहत नै सदरमुकाममा रहेको छ ।

कुन–कुन कार्यालय के नामबाट रहने भए ?

सदरमुकामबाट खारेज गर्ने भनिएको जिल्ला स्वास्थ्य कार्यालयको स्थानमा काभ्रे र सिन्धुपाल्चोक हेर्ने गरी डिभिजन स्वास्थ्य कार्यालय सदरमुकाममा रहने भएको छ ।

त्यस्तै, सिँचाइ डिभिजन कार्यालयको स्थानमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय नाम गरिएर काभ्रे र सिन्धुपाल्चोक हेर्ने गरी चौतारामा नै राखिएको छ । त्यस्तै प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्र्तगत सिन्धुपाल्चोक मात्रै हेर्ने गरी डिभिजन वन कार्यालय जिल्लामा राखिएको छ । भू–संरक्षण कार्यालयको स्थानमा सिन्धुपाल्चोक लगायत अन्य जिल्ला हेर्ने गरी भू तथा जलाधार कार्यालय राखिएको छ ।

जिल्ला प्राविधिक कार्यालयको स्थानमा पूर्वाधार विकास कार्यालय नाम राखेर दोलखा र सिन्धुपाल्चोक हेर्ने गरी जिम्मेवारी तोकिएको छ । यसअघि प्राविधिक कार्यालयमा डिभिजन इन्जिनियरसहित १७ जना कर्मचारी हुने व्यवस्था भए पनि अहिले भने डिभिजन इञ्जिनियरसहित २४ कर्मचारीहरुको व्यवस्था गरिएको छ ।

कृषि कार्यालयको सट्टामा प्रधानमन्त्री आधुनिकीकरण आयोजना मकै खेती जोन नामकरण गरेर अर्काे कार्यालय स्थापना गरिएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयको स्थानमा भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले अर्काे कार्यालय खडा गरिएको छ ।

पुननिर्माण प्राधिकरण यथावतै नै छ भने अनुदान व्यवस्थापन कार्यालय भनेर अर्काे कार्यालय राखिएको छ । जिल्ला शिक्षा कार्यालय यस अघि नै जिल्ला प्रशासन कार्यालय माताहात रहने गरी शिक्षा विकास तथा समन्वय इकाइको नामकरण गरेर जिल्लामा राखिएको छ । घरेलु कार्यालय पनि जिल्लामा यथावत नै छ । मालपोत, नापी, प्रहरी, हुलाक, अदालत, निर्वाचनलगायत अन्य सरकारी कार्यालयहरु यथावत नै सदरमुकाममा रहेका छन् ।

जनप्रतिनिधिले भने, ‘अब हामी आफैं कर्मचारी भर्ती गर्छौं

सदरमुकाममा रहेका सरकारी कार्यालय खारेज भएपछि अब स्थानीय तहमा कर्मचारी आउनेछन् र जनताको काम गर्न सजिलो हने अपेक्षा स्थानीय तहका जनप्रतिनिधिले गरेका थिए । स्थानीय तहमा गएको एक वर्षसम्म पनि कर्मचारी समायोजन हुने आशामा बसेका जनप्रतिनिधिहरु यतिबेला भने खिन्न भएका छन् । यो वा त्यो नाममा सरकारी कार्यालयहरु सदरमुकाममै राखेपछि स्थानीय तहका जनप्रतिनिधिहरु प्रदेश र संघीय सरकारीसँग आक्रोशित छन् ।

जुगल गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ विभिन्न वहानामा सदरमुकाममै सरकारी कार्यालय राख्ने निर्णय दुर्भाग्य भएको बताउँछन् । ‘काम भएको ठाउँमा कर्मचारी छैनन् नभएको स्थानमा कर्मचारी राखिएको छ,’ श्रेष्ठले भने, ‘अब हामी चुप लागेर बस्दैनौं । स्थानीय सेवा ऐन बनाएर कर्मचारी भर्ती गर्छौं ।’

उनले जनताले काम गर्न जिताएको उल्लेख गर्दै प्रदेश र केन्द्रले कर्मचारी व्यवस्थापनमा बेवास्ता गरे आर्थिक मितव्ययिता गरेर कर्मचारी राख्न देशभरका स्थानीय तहलाई अनुरोध गर्ने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *