१३ कात्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेपछि बी टिमका प्रशिक्षक सान्टियागो सोलारीलाई जिम्मेवारी दिएको छ ।
नयाँ प्रशिक्षक नल्याउँदासम्म जिम्मेवारी पाएका सोलारीले राम्रो गर्न सके जिनेदिने जिदानको बाटो पनि पछ्याउन सक्ने छन् । बी टिमबाटै मड्रिड सम्हालेका जिदानले राम्रो प्रभाव पारेका थिए ।
रियल मड्रिडका पूर्व खेलाडीसमेत रहेका सोलारी वर्तमान फुटबलमा भने बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीका ठूला समर्थक हुन् । सार्वजनिक रुपमा नै उनले मेस्सी मन पर्ने भन्दै उनको तारिफ गरिरहेका हुन्छन् ।
रियल मड्रिडको बी टिम सम्हाल्नुअघि सोलारी एउटा पत्रिकामा फुटबारे नियमित स्तम्भ लेख्थे । जसमा उनले धेरै पटक मेस्सीको तारिफ गरेका छन् ।
‘मेस्सी मैदानमा हुँदा बिजुली चम्केको, तुफान आएको जस्तो लाग्छ । उनको भूमिका अतुलनीय छ’ सोलारीले लेखेका छन्, ‘हरेक पटक मेस्सीले बल छुँदा पृथ्वी हलिन्छ, सबै शान्त हुन्छन् र केहीबेरमा सुनिन्छ …गोल ।’
कतिसम्म भने मेस्सीले चौथो पटक बालोन डिओर जित्दा क्रिष्टियानो रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने प्रश्नमा सोलारीले भनेका थिए, ‘फुटबलमा रोनाल्डो सबैभन्दा उत्कृष्ट हुन मेस्सीले अरु नै खेलमा लाग्नुपर्छ ।’
ला लिगासम्बन्धि अन्तर्वार्तामा पनि उनले मेस्सीलाई लिजेण्ड खेलाडी पेले र डिएगो म्याराडोनासँग पनि तुलना गरेका थिए ।
‘मेस्सी यो शताब्दीकै उत्कृष्ट खेलाडी हुन्, हाम्रो दुर्भाग्य उनी बार्सिलोनामा छन्’ सोलारीले इएसपीएनसँगको अन्तर्वार्तामा भनेका थिए ।



