Uncategorized

अष्ट्रेलिया क्रिकेटको ‘कालो वर्ष’, एकपछि अर्को लज्जास्पद हार

१२ कात्तिक, काठमाडौं । क्रिकेटको सबैभन्दा ठूलो पावर हाउस मानिन्थ्यो अष्ट्रेलिया ।

पाँचपटक विश्वकप विजेता । आईसीसीको वरियतामा प्राय शीर्ष स्थान । टिमका हरेक खेलाडी ‘म्याचविनर’ । यस्तो थियो अष्ट्रेलियाको पहिचान । अष्ट्रेलिया भन्नासाथ अरु टिम त्यसै आतंकित हुन्थे । तर यो सबै अब इतिहास भइसक्यो ।

हालै पाकिस्तानसँग टी-२० सिरिज ३-० ले गुमाउँदा उसको वास्तविक अवस्था उजागर भएको छ ।

अहिले अष्ट्रेलिया आईसीसीको टेष्ट वरियतामा पाचौं र एक दिवसीयमा छैटौं स्थानमा धकेलिएको छ । टी-ट्वान्टीमा चाहिँ तीन नम्बरमा छ ।
सन् २०१८ त अष्ट्रेलियाको लागि कालो वर्ष जस्तै भएको छ ।

हारका श्रृङ्खला

दक्षिण अफ्रिकासँग १-३ को हार

गत मार्चदेखि अप्रिलसम्म अष्ट्रेलिया क्रिकेट टिमले टेष्ट सिरिज खेल्न दक्षिण अफ्रिका भ्रमण गर्‍यो । श्रृंखला जित्ने लक्ष्यका साथ अष्ट्रेलियन टिम दक्षिण अफ्रिका पुगेको थियो ।

मार्च १ देखि ५ तारिखसम्म भएको टेष्ट सिरिजको पहिलो म्याचमा अष्ट्रेलिया ११८ रनले विजयी पनि बन्यो । तर, बाँकी सबै खेलमा अष्ट्रेलियाले लज्जास्पद प्रदर्शनका साथ हार व्यहोर्‍यो ।

मार्च ९ देखि १२ सम्म भएको दोस्रो टेष्टमा घरेलु दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो टेष्ट ३२२ रनको विशाल अन्तरले जित्दै दक्षिण अफ्रिकाले सिरिज आफ्नो पोल्टामा पार्‍यो । डेड रबरका रुपमा रहेको चौथो टेष्टमा समेत अष्ट्रेलिया ४९२ रनले पछारियो ।

इंग्ल्यान्डद्वारा क्लिन स्विप

गत जुनमा अष्ट्रेलियाले इंग्ल्यान्डसँग ५ खेलको एकदिवसीय सिरिज र एक टि-ट्वान्टी सिरिज खेल्यो । यी सबै खेलमा अष्ट्रेलियामाथि इंग्ल्यान्ड हावी भयो ।

पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो । दोस्रोमा ३ सय ४३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ३०४ रनमा समेटिदै ३८ रनको हार व्यहोर्‍यो । तेस्रो म्याचमा उसको प्रदर्शन झनै खस्कियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा कीर्तिमानी ४८१ रन बनाएको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै उच्च स्कोर हो । इंग्ल्यान्डले विश्व किर्तिमान राख्दा एलेक्स हेल्स र जोनी बैरस्टोवले शतक प्रहार गरेका थिए । एलेक्सले १४७ र जोनीले १३९ रन बनाएका थिए ।

अष्ट्रेलियाले ३७ ओभरमा सबै विकेट गुमाएर २३९ रन मात्रै बनाउन सक्यो । म्याचमा २४२ रनको हार व्यहोर्‍यो अष्ट्रेलियाले, जुन उसको इतिहासमै सबैभन्दा ठूलो हार हो ।

चौथो खेलमा अष्ट्रेलिया ६ विकेटले पराजित भयो भने अन्तिम खेलमा पनि १ विकेटको हार व्यहोर्‍यो । यसरी ५ खेलको एक दिवसीय क्रिकेट शृंखला इंग्ल्यान्डले ५-० ले कब्जा गर्‍यो ।

एकपछि अर्को सिरिजमा खराब प्रदर्शनपछि टिमको नेतृत्वमा प्रश्न उठ्नु पनि स्वभाविकै थियो । त्यसैले एक मात्र टी-ट्वान्टी खेलमा कप्तानीको जिम्मा एरोन फिन्चलाई दिइएको थियो तर, पनि अष्ट्रेलियाले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

२२२ रनको विशाल चुनौती पछ्याएको अष्ट्रेलियाले १९३ रन मात्रै बनाउन सक्यो । यसरी एक खेल पनि नजिति इंग्ल्यान्डबाट अष्ट्रेलियन टिम स्वदेश फर्किएको थियो ।

त्रिकोणात्मक सिरिजमा पनि उस्तै

जुलाई महिनामा जिम्बाब्वेमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पनि अष्ट्रेलिया असफल बन्यो ।

त्रिकोणात्मक सिरिजमा अष्ट्रेलिया, पाकिस्तान र जिम्बाब्वे सहभागी थिए । सिरिजका ३ खेलमा जित हात पारे पनि फाइनलमा पाकिस्तानसँग ६ विकेटले अष्ट्रेलिया पराजित भएको थियो ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा जिम्बाब्वेलाई १०० रनले पराजित गर्‍यो । दोस्रो चरणमा पाकिस्तानले अष्ट्रेलियालाई ४५ रनले हरायो । तर, जिम्बाब्वेलाई दोस्रो चरणको खेलमा ५ विकेटले पराजित गरेपछि अष्ट्रेलिया फाइनलमा पुगेको थियो ।

फाइनलमा अष्ट्रेलिया फेरी पनि पाकिस्तानसकै सिकार बन्यो । फाइनलमा ६ विकेटले पाकिस्तानसँग पराजित हुँदै अष्ट्रेलियाको जिम्बाब्वे टुर सकियो ।

पाकिस्तानको क्लिन स्विप

एकपछि अर्को खराब प्रदर्शन गरेको अष्ट्रेलिया पाकिस्तानसँग टेष्ट र टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न यही अक्टोबरमा युएई भ्रमणमा निस्कियो । तर नतिजा उही, प्रदर्शन उही । यो पटक पनि पाकिस्तानविरुद्ध कुनै खेल जित्न नसकी अष्ट्रेलिया स्वदेश फर्किएको छ ।

२ खेलको टेष्ट क्रिकेट शृंखलामा पहिलो टेस्ट बराबरी खेलेको अष्ट्रेलिया दोस्रो टेस्टमा ३७३ रनले पराजित भयो र सिरिज पाकिस्तानलाई सुम्पियो ।

पाकिस्तानसँग टी-ट्वान्टी सिरिज खेल्नुअघि तयारीको रुपमा आईसीसीको एसोसिएट राष्ट्र युएईसँग एक खेल खेल्यो । उक्त खेलमा अष्ट्रेलियाले ७ विकेटले जित हात पार्‍यो । तर, पाकिस्तानसँग पहिलो टि-२० मै अष्ट्रेलिया ६६ रनले पराजित भयो ।

१ सय ५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ८९ रनमै अलआउट भयो । निरन्तर खस्किएको अष्ट्रेलियाको ब्याटिङ पाकिस्तानसँगको खेलमा पनि उक्सिएन ।

दोस्रो खेलमा ११ रनले पराजित भएको अष्ट्रेलिया अन्तिम तथा तेस्रो खेलमा ३३ रनले पराजित हुँदा पाकिस्तानले क्लिन स्विप गरेको थियो ।

हारको कारण के ?

बल टेम्पिरिङ प्रकरणः अष्ट्रेलियाको हारको मुख्य कारणको रुपमा ‘बल टेम्परिङ’ काण्ड प्रमुख हो । क्रिकेटको दुनियाँमा एकपटक बदनाम भएपछि पहिलेकै स्थानमा आफ्नो हैसियत कायम राख्न निकै समय लाग्ने गरेको छ ।

उदाहरणकै रुपमा पनि पाकिस्तानलाई लिन सकिन्छ । सन् २००९ मा आफ्नो भूमिमा श्रीलंकाली खेलाडीमाथि आतंककारी हमलाको कारण पाकिस्तानले अहिलेसम्म कुनै ठूला क्रिकेट प्रतियोगिता आयोजना गर्न पाएको छैन । यो हमलाको कारण पाकिस्तानले क्रिकेटमा ठूलै क्षति ब्यहोर्नु परिरहेको छ । अझै आईसीसी पाकिस्तानमा प्रतियोगिता आयोजना गर्न मान्दैन ।

अष्ट्रेलिया पनि बल टेम्परिङको काण्डले बद्नाम मात्रै भएन, उसको क्रिकेट नै धरासायी बनेको छ । सन् २०१८ को मार्चमा दक्षिण अपि|mका भ्रमणमा रहेको बेला अष्ट्रेलियन खेलाडी बल टेम्परिङ कान्डमा मुछिएका थिए ।

क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेपछि अष्ट्रेलियाको सर्वत्र आलोजना भयो भने तत्कालिन कप्तान स्टेभन स्मिथ र उपकप्तान डेभिड वार्नर निलम्बित भए । उनीहरुमाथि १ वर्षको प्रविन्ध लागेको छ । स्मिथ र वार्नर टिमका प्रमुख ब्याट्सम्यानसमेत थिए ।

बेनक्राफ्टले बल टम्परिङ गरेको भिडियो सार्वजनिक भएको थियो । खेल ४३ ओभरमा चलिरहेको बेला जब बेनक्राफ्टको हातमा बल पुग्यो, बल चम्काउनुअघि उनले टेप जस्तो देखिने पहेँलो बस्तु हातमा टाँसेका थिए । बल चम्काएपछि फेरि त्यसलाई उनले खल्तीमा हाले ।

जब यो फुटेजमा देखियो, अम्पायर निजेल लग र रिचर्ड इलिङवर्थले सामान्य सोधपुछ गरेका थिए । तर, अम्पायरले सोध्नुअघि बेनक्राˆटले खल्तीमा रहेको पहेँलो टेप आˆनो ट्राउजरभित्र लुकाएका थिए ।

चर्चित खेलाडी नै फ्लपः अष्ट्रेलियासँग अझै पनि केही चर्चित तथा अनुभवि खेलाडी छन् । तर उनीहरुको प्रदर्शन पछिल्लो समयमा दयनिय देखिएको छ ।

अहिले अष्ट्रेलियाको राष्ट्रिय टिममा कप्तान एरोन फिन्चसँगै, मिचेल मार्स, ग्लेन म्याक्स्वेल, एन्ड्रोव टाइ, नाथन काउल्टर नाइल, मिचेल स्टार्क, एस्टोन एगर, नाथन लियोन, उस्मान ख्वाजा, मार्कस स्टोइनिस, टिम पाइन जस्ता खेलाडी छन् । तर यीमध्ये कसैले पनि टेष्ट, एक दिवसीय र टि-ट्वान्टी फर्म्याटमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

२०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप नजिकिदो छ । तर डिफेन्डिङ च्याम्पियनको रुपमा रहेको अष्ट्रेलियाको यस्तो टिमले उपाधि रक्षा गर्न सक्ने देखिदैन । त्यसकारण अष्ट्रेलियाले टिममा आमुल परिवर्तन गर्नुपर्ने खाँचो विज्ञहरुले औंल्याइरहेका छन् ।

अब यही नोभेम्बरमा उसले दक्षिण अफ्रिकासँग ३ म्याचको एकदिवसीय र एक म्याचको टि-ट्वान्टी सिरिज खेल्दैछ । त्यसपछि नोभेम्बर र डिसेम्बरमा भारतसँग ३ म्याचको टेष्ट र ३ म्याचको टि-ट्वान्टी सिरिज खेल्नेछ । यही टिम र यस्तै प्रदर्शनले आगामी दिनमा अष्ट्रेलिया कहाँ पुग्ला ?

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *