Uncategorized

नेपालकै पहिलाे ‘नेटवर्क आर्क ब्रिज’मा पनि पप्पुको ढिलासुस्ती

२६ कात्तिक, काठमाडौं । नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ निर्माण सुस्त गतिमा अघि बढेको छ ।  काठमाडौंको विजुली बजारस्थित धोबीखोलामाथि बनिरहेको ‘नेटवर्क आर्क ब्रिज’ को हालसम्म ५५ प्रतिशत निर्माण सम्पन्न भएको हो ।

आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका इञ्जीनियर एवं आयोजनाका सूचना अधिकारी विश्व विजय लाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘५५ प्रतिशत काम सकिएको छ, पूर्ण निर्माण सकिन अझै एक वर्ष लाग्छ’, उनले भने ।

इञ्जीनियर श्रेष्ठका अनुसार यो पुलमा ढलानको काम सकिएसँगै नेटवर्क वायर (तार) तन्काएर कसिलो पार्ने तयारी छ ।  तार तन्काएपछि त्यसमा भारवहन क्षमता जाँच गरिने उनले बताए । ती सबै काम सकिएपछि फर्मा खोलिने हुनाले निर्माणको काम केहि लम्बिने उनको भनाइ छ ।

यसमा ‘एप्रोच रोड’को काम बाँकी रहेको उनले बताए । मुख्य सडकसँग जोड्ने वा वुद्धनगरतर्फ आउने बाटो -एप्रोच रोड) को काम सोमबारबाट सुरु भएको उनले जानकारी दिए ।

बानेश्वरबाट बिजुलीबजारतर्फ जाने साइडतर्फ पुलसँगै अर्कोतर्फ बन्दै गरेको पुलको भने जम्मा १० प्रतिशत काम भएको श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार त्यहाँ खानेपानीको पाइप परेकाले काम ढिलाइ भइरहेको छ । ‘खानेपानीको पाइप परेकाले केहि ढिलाइ भएको छ, विजुलीको तार भने अण्डरग्राउण्ड गरियो, अर्को पूलको काम पनि सँगै अघि बढ्छ’, उनले भने ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गरिरहेको हो ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको नेटवर्क आर्क प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट हुने इञ्जीनियर श्रेष्ठ बताउँछन् ।

यस्तै प्रविधिमा बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ-बायाँ ४ वटा पुल बन्दैछन् ।  बाग्मती पुलमा सँगै ठेक्का लागेपनि पप्पु कन्सट्रक्सनले काम गतिका साथ गरेको छैन । बिजुलीबजारको धोबिखोलामाथि को पुलको ठेक्का जेई कन्सट्रक्सनले पाएको छ ।

सँगै ठेक्का लागेपनि तुलनात्मक रुपमा तिनकुनेको बाग्मती नदीमा पप्पु कन्सट्रक्सनले बनाइरहेको नेटवर्क आर्क ब्रिजको काम हालसम्म जम्मा ३५ प्रतिशत सकिएको छ ।

यी दुवै पुलको ठेक्का १३ पुष २०७१ मा सँगै दिइएको थियो । ठेक्का सम्झौता अनुसार बिजुलीबजारस्थित धोबिखोलामाथि बनिरहेको पुलको समयावधि १३ पुष २०७४ मा नै सकिएको छ भने तिनकुनेको पुलको समयावधि गत ५ असारमा सकिएको छ ।

बिजुलीबजारको पुल निर्माण भएपछि सर्भिस लेन-मुल सडकको दायाँ (बायाँको लेन) बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । माइतीघर-तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् ।

अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार-पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिनेछ ।
पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ । धोबीखोलामा बनिरहेको ६० मिटरको पुलको लागत १३ करोड छ भने हालसम्म ७ करोड खर्च भएको छ ।

तिनकुनेस्थित बाग्मती नदीमाथि बनिरहेको ५५ मिटर लम्बाइको पुलको लागत २१ करोड मध्ये हालसम्म ६ करोड ७७ लाख निकासा भएको इञ्जीनियर श्रेष्ठले जानकारी दिए ।

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क -धनुष) फिक्सिङ गरिन्छ ।

र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र केलबहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ ।

पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइन्छ ।

आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्ने योजना छ ।

यसले सडक झिलिमिलि मात्रै हुनै छैन, पुललाई आकर्षक समेत देखाउने छ । दुबै पुल निर्माण भएपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा हुने ट्राफिक जामको समस्या पनि कम गर्न मद्दत पुग्नेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *