Uncategorized

सफलता सूत्रः साइकलबाट पनि सिक्न सकिन्छ जीवनोपयोगी कुरा

हामी जति हुर्कदै जान्छौं, उत्तिनै हाम्रो दिमागले ‘रेडिमेड धारणा’ बनाउन थाल्छ । त्यसैको नतिजा हो, हामी सिक्नका लागि सीमित श्रोत र साधनमा भर पर्छौं । विश्वास गर्छौं ।

हामीलाई के लाग्छ भने, कुनै कुरा शिक्षकबाट सिक्नुपर्छ । शिक्षकबाट सिक्नका लागि विद्यालय जानुपर्छ । विद्यालयको पाठ्यपुस्तकमा मात्र हामीले सिक्नुपर्ने कुरा छन् । यी सबै रेडिमेड धारणा हुन्, जो हामीलाई वाल्यकालदेखि नै विकास गरियो ।

सिक्नका लागि शिक्षक नचाहिने होइन । तर, शिक्षकबाट मात्र सबै कुरा सिकिन्छ भन्ने छैन । अझ अहिलको अवस्थामा त शिक्षकहरु शिक्षक नभएर कर्मचारी वा जागिरे छन् । उनीहरु अरुलाई ज्ञान बाढ्न वा जानेको कुरा बुझाउन भन्दा पनि ‘ड्युटी’ गर्न हाजिर हुन्छन् । अर्को उदेगलाग्दो कुरा, यसरी शिक्षकको रुपमा ड्युटी गर्ने कतिपयसँग सिकाउने कला वा ज्ञान पनि नहुन सक्छ । त्यसैले त अहिलेका पढन्ते विद्यार्थीहरु प्रमाणपत्र काखीमा च्यापेर जागिरका लागि भौतारिरहेका छन् ।

हामीले जे कुराबाट पनि, जसरी पनि सिक्न सक्छौं । वास्तवमा यो पृथ्वी, वातावरण, समाज, मान्छेहरु, प्रकृति आफैमा यस्तो पुस्तक हुन्, जहाँ ज्ञानको अनन्त भण्डार छ । तर, हामी यस्तो कुराबाट सिक्ने अभ्यास गर्दैनौं ।

एउटा बच्चा पनि शिक्षक हुन् । उनको वालशुलभ प्रवृत्ति, चञ्चलता, उत्सुकता सबै कुरा हाम्रा लागि सिक्न योग्य कुरा हुन् । कुनै कुरा सिक्नका लागि, जान्नका लागि स्कुल, कलेज, इन्स्टिच्युट, तालिम केन्द्र धाउनुपर्छ भन्ने होइन । वस्, हामीमा सिक्ने वा जान्ने उत्सुकता हुनुपर्छ, जे कुराबाट पनि ज्ञान आर्जन गर्न सकिन्छ ।

सिक्ने वा जान्ने गुण आफैमा एक महान गुण हो । हामी जति धेरै कुरा सिक्छौं, जति धेरै कुरा बुझ्छौं, जति धेरै कुरा जान्दछौं, हामीमा परिपक्कता बढ्छ । आफु, आफ्ना परिवार, समाज, संसार सबैलाई हेर्ने र बुझ्ने वैज्ञानिक दृष्टिकोण बन्छ । त्यसैले सिक्नु वा जान्नु भनेको आफैमा पूर्णता प्राप्त गर्नु हो, जसले हामीलाई अविचलित भएर प्रगति पथमा लम्कनका लागि सहयोग गर्छ ।

कुनै कुरा सिक्नुको अर्थ हो, जीवनलाई सरल र सहज बनाउनु ।

हामीले साइकलबाट पनि जीवनोपयोगी कुरा सिक्न सक्छौं । साइकल, जसको प्रयोग गरेर हामी यात्रालाई छिटो एवं छरितो बनाउँछौं । तर साइकल भेट्नसाथ हामी त्यसलाई प्रयोग गर्न सक्दैनौ । साइकल सिक्ने चरणमा लडिन्छ, फेरी उठिन्छ, कुदाउने प्रयास गरिन्छ, सन्तुलन मिलाइन्छ । यसरी क्रमस साइकल कुदाउन सिपालु हुन्छौं । जीवन पनि यस्तै हो । कुनैपनि कुरा प्रयोग नगरी, प्रयास नगरी सिक्न सकिदैन । जान्न सकिदैन ।

अतः साइकलबाट के कुरा सिक्ने त ?

नयाँ कुरा सिक्नुपर्छ

जब कोही पहिलो पटक साइकल कुदाउने प्रयास गर्छ, सन्तुलनमा राख्न सक्दैनन् । साइकलमा चढ्छ, पाइडल चलाउँछ । तर, साइकल र शरीरको सन्तुलन मिल्दैन । लडिन्छ । तर, यही मोडमा पुगेपछि फेरी प्रयास गरिएन भने कहिल्यै साइकल चलाउन सकिदैन । जबकी जति पटक लडिन्छ, उत्तिनै पटक उठेर प्रयास गर्नुपर्छ । साइकललाई सन्तुलनमा राखेर कुदाउन सक्षम भइन्छ । यसबाट के बुझ्न सकिन्छ भने, जीवनमा हरेक कुरामा आफुलाई अभ्यस्त गराउन सकिन्छ । हरेक कुरामा आफु सक्षम हुन सकिन्छ । तर, त्यसका लागि निरन्तर प्रयास र उत्साहको खाँचो हुन्छ ।

लडेपछि उठ्न सिक्ने

जब हामी साइकल चलाउन सिक्छौं, पक्कै लडिन्छ । लड्छौं । फेरी उठेर साइकल चलाउने प्रयास गर्छौ । यो प्रयास निरन्तर जारी रहन्छ । आखिरमा हामी साइकललाई सन्तुलनमा मिलाएर चलाउन सक्षम हुन्छौं ।

लड्नु भनेको आफुले त्यसका लागि थप प्रयास गर्नुपर्छ भन्ने हो । यसको मतलब यो होइन, हामी साइकल सिक्न असक्षम छौं । यो कुरा हाम्रो व्यवहारिक जीवनमा पनि लागु हुन्छ । कुनै कुरा नजान्नु भनेको त्यो कुरा जान्नका लागि आफुले थप प्रयास गर्नुपर्ने आवश्यक्ता छ भन्ने हो ।

परीक्षामा असफल भइन्छ । यसको अर्थ यो होइन कि आफु असफल हो । यसको अर्थ यो हो कि, सफल हुनका लागि हामीसँग थप मेहनतको जरुरी छ । जब मेहनत गर्छौं, सफलता प्राप्त हुन्छ ।

धैर्यताको पाठ

हामीलाई साइकल सिक्नका लागि पर्याप्त समय लाग्छ । पर्याप्त मेहनत लाग्छ । सुरुका अवस्थामा हामी जतिसुकै बल गरेपनि साइकललाई सन्तुलित ढंगले दौडाउन सक्दैनौं । निरन्तरको प्रयास पछि मात्र साइकल र शरीरको सन्तुलन मिलाएर पाइडल चलाउन सक्छौं । तर, यतिले मात्र पनि पुग्दैन । भिड वा व्यस्त सडक वा असहज सडकमा पनि हामीले साइकल कुदाउनु पर्छ । यसका लागि पनि हामी विस्तारै अभ्यस्त हुने हो । यसबाट के बुझ्न सकिन्छ भने, कुनैपनि कुरामा सफलता प्राप्त गर्न धैर्यताको खाँचो छ ।

अगाडि बढ्ने हो भने डरलाई जित्नुपर्छ

जब साइकल चलाउन सिक्छौं, सुरुमा अरुलाई साइकल थमाइन्छ । हामी चढेर पाइडल चलाउने वा सन्तुलन मिलाउने प्रयास गर्छौं । त्यसपछि अरुको सहयोग बिना नै साइकललाई पाइडल चलाएर साइकल अगाडि बढाउँछौं । हामीलाई थाहा हुन्छ कि कुनै ठाउँमा पुगेपछि लड्न सकिन्छ । तर, लड्ने भयलाई जितेर हामी साइकल गुडाउँछौं । खुला स्थानमा साइकल सिक्छौं । विस्तारै राजमार्ग । साँघुरो गल्ली । व्यस्त सडकमा साइकल कुदाउन सक्छौं ।

जीवनमा पनि सफलताका लागि यसरी नै अगाडि बढ्नुपर्छ । कुनैपनि कुरा प्राप्त गर्नका लागि त्यसमा चुनौती हुन्छन्, अप्ठ्यारा हुन्छन् । तर, यस्ता चुनौती र अप्ठ्याराहरुलाई जितेर अगाडि बढ्नुपर्छ ।

सन्तुलन र अनुशासन

सफलताको अहंम् विन्दु हो अनुशासन । हामी जे काम गर्छौ, त्यसलाई अनुशासित ढंगले निर्वाह गरियो भने मात्र अर्थपूर्ण नतिजा प्राप्त हुन्छ ।

साइकल चलाउने क्रममा हामीले सडक अनुशासन पालना गर्छौं । साइकललाई कसरी, कुन लेनमा, कति गतिमा कुदाउने हो भन्ने कुराको ख्याल गरिन्छ । यी कुराहरु जीवनमा पनि लागु हुन्छ ।

साथै जीवनमा सफलता प्राप्त गरेर पनि सन्तुलन गुमाउन हुँदैन । सफलता, असफलता, अप्ठ्यारो, सजिलो, जस्तोसुकै चरणमा पनि हामीले आफ्नो सन्तुलन कायम राख्नुपर्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *