Uncategorized

भिडाल मैदान छिर्दा किन रिसाए बार्सिलोना फ्यान ?

८ कात्तिक, काठमाडौं । नयाँ सिजनका लागि इन्टर मिलान जान तयार रहेका आर्टुरो भिडाललाई बार्सिलोनाले ‘हाइज्याक’ नै गर्‍यो । तर, क्लबमा आएदेखि उनले २ सय मिनेट मात्रै खेल्न पाएका छन् ।

लामो समय बेञ्चमा रहेर निराश बनेका भिडालले च्याम्पियन्स लिगमा बुधबार राति इन्टरमिलानविरुद्ध १५ मिनेट खेल्ने समय पाए । ७८ औं मिनेटमा आर्थर मेलोको स्थानमा मैदान छिरेका भिडालले सन्तोषजनक खेल नै देखाए पनि उनी मैदान छिर्ने बेला बार्सिलोना समर्थक खुसी देखिएनन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भिडाल आर्थरको स्थानमा मैदान छिर्ने बेला दर्शकले सिठ्ठी बजाउने र चर्को स्वरमा कराउने गरेर विरोध नै जनाए ।

च्याम्पियन्स लिगमा टोटनहृयामसँगको खेलमा पनि भिडाल ८७ औं मिनेटमा मात्रै मैदान प्रवेश गर्न पाएका थिए । खेलपछि उनले आफ्नो इन्स्टाग्राममा रिसाएको इमोजी राखे । उनले त्यसलाई केहीबेरमा हटाएर ‘कहिल्यै हार मान्नु हुँदैन, राम्रा कुरा अझै आउँदै छन्’ लेखेका थिए ।

ला लिगामा भ्यालेन्सियासँग बराबरी भएको खेलपछि पनि उनले खेल्न नपाएको असन्तुष्टि सामाजिक सञ्जालमा नै पोखेका थिए । यसैले बार्सिलोना पछिल्लो समय भिडालले देखाइरहेको व्यवहारदेखि असन्तुष्ट थियो । त्यसलाई सहज बनाउन प्रशिक्षक एर्नेस्टो भालभर्देले भिडाललाई इन्टरमिलानविरुद्ध १५ मिनेट मात्रै अवसर दिए पनि त्यसमा दर्शक खुसी भएनन् ।

विशेष त भिडाल मैदान छिर्ने कुराले भन्दा पनि आर्थरलाई बाहिर पठाउने कुराले दर्शक रिसाएका थिए । बार्सिलोनामा अवसर पाएदेखि नै आर्थर टच, भिजन र पास तीनै कुरामा उत्कृष्ट देखिएका छन् । आर्थरलाई कतिपयले त लिजेण्ड खेलाडी जाभीसँग पनि तुलना गर्न थालिसकेका छन् ।

सर्जियो बुस्केट्स, इभान र्‍याकिटिक, फिलिप कोटिन्हो जस्ता खेलाडी रहेको ठाउँमा मिडफिल्डमा नै आर्थरले निकै राम्रो गरिरहेका छन् । यसैले ३१ वर्षका भिडाललाई खेलमा अवसर मिल्न सहज छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *