Uncategorized

तलव वृद्धिको माग गर्दै चितवनको आरआर दाना उद्योगमा तालावन्दी

२२ असोज, चितवन । सरकारले बढाएको न्यूनतम स्केल अनुसार तलव वृद्धिको माग गर्दै मजदुरहरुले चितवनको आरआर दाना उद्योगमा तालावन्दी गरेका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघको आह्वानमा भरतपुर महानगरपालिका वडा नम्बर १४ मा अवस्थित दाना उद्योगमा असोज १९ गतेदेखि तालावन्दी गरिएको हो ।

२०७५ साउन १ गतेबाट सरकारले बढाएको न्यूनतम ज्याला पाउनुपर्नेमा उद्योग व्यवस्थापनले दिने तयारी नगरेकाले तालावन्दी गरिएको मजदुर संघका सचिव शिवराज सापकोटाले जानकारी दिए ।

मजदुरहरुले खाइपाई आएको तवलमानमा तीन हजार सात सय ५० रुपैयाँ थप गर्नुपर्ने माग गरेका छन् । उद्योगमा मजदुरसहित २० जना कर्मचारीहरु कार्यरत छन् । सबै कर्मचारीहरु स्थायी हुन् । उनीहरुले तीन महिनादेखि तलव नपाएको बताएका छन् । दशैं नजिकिएको बेला पनि उद्योग सञ्चालकले तलब दिने छाँटकाँट नदेखाएको भन्दै मजदुर तथा कर्मचारीहरु आक्रोशित छन् ।

मजदुर संगठनका अध्यक्ष दुर्गाबहादुर प्रजाले उद्योग सञ्चालकले खाइपाई आएको ग्रेड र अन्य सुविधा काटेर एकमुष्ठ रुपमा सरकारले तोकिदिएको १३ हजार ४ सय ५० रुपैयाँ दिन सहमत भएको तर आफूहरुले नमानेको बताए । उद्योगमा तालावन्दी भएपनि भएका वार्तामा सहमती हुन नसकेको अध्यक्ष प्रजाले बताए ।

यता, उद्योग सञ्चालक अक्कलबहादुर शाहीले अनलाइनखबरसँग कुरा गर्दै उद्योग निरन्तर घाटामा गएकाले बन्द गर्ने सोच बनाएको बताए । ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन्छौं भन्दा पनि मान्नु भएन’, सञ्चालक शाहीले भने, ‘म आफैं उद्योगमा पुगेर वार्ता गरेँ, सहमती भएन, प्रत्येकलाई दुई हजार आठ सय थपेर न्यूनतम ज्याला दिन कम्पनी तयार छ ।’

मजदुर संगठनका सचिव शिवराज सापकोटाले उद्योग बन्दका नाममा अहिले भएका कर्मचारीहरुलाई निकाल्ने षडयन्त्रमा सञ्चालक लागेको टिप्पणी गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *