Uncategorized

पप्पु कन्स्ट्रक्सनका मालिक र सडक डिभिजन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।

गत वर्ष भएको प्रतिनिधिसभाकाे निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

सडकका तीन जना हाकिमविरुद्ध पनि मुद्दा

अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालिन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ  र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन डिभिजन प्रमुख जोशीसँग १ करोड ९७ लाख, १३ हजार ४ सय ३७, श्रेष्ठसँग ९ करोड २४ लाख २४ हजार ९९, यादवसँग ३ करोड १४ लाख १८ हजार ९ सय ७ र एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर यादवसँग १ लाख ४१ हजार २ सय ५० रुपैयाँ विगो माग गरिएको छ ।

भ्रष्टाचार मुद्दा लागेका तत्कालिन डिभिजन प्रमुखहरु हाल सरकारी सेवामा नै रहेका छन् । भानु जोशी डिभिजन सडक कार्यायल दमौलीका प्रमुख, मनोज श्रेष्ठ प्रदेश ५ का सचिव रहेका विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए ।






यो पनि पढ्नुहोस
सांसदले चलाएको पप्पु कन्स्ट्रक्सन बन्यो सडक र पुलको ‘ऐँजेरु’

अख्तियारले निमित्त डिभिजन प्रमुख नवराज केसी, इन्जिनियर प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट, सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ र गोविन्द गैरेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । केसीसँग ६ करोड, ९२ लाख ४६ हजार ९ सय २१, चुवाईसँग ३ करोड  १९ लाख ३८ हजार ५ सय ७९, खड्कासँग ७ करोड, ५४ लाख ४८ हजार ६१, विष्टसँग १ करोड ६१ लाख ८३ हजार ४ सय ४५ रुपैयाँ विगो दावी गरिएको छ ।

त्यस्तै सब इन्जिनियर कार्मा तेन्जिङ तामाङसँग १५ करोड ८ लाख ८४ हजार ७ सय १३ र गैरेसँग १ करोड ९५ लाख ८८ हजार ४ सय ३७ रुपैयाँ विगो माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टाचार मुद्दा लागेका कर्मचारीमध्ये हरिबहादुर खड्का सेवा निवृत्त भइसकेका छन् भने अरु सरकारी सेवामा नै रहेका छन् ।

के हो मुद्दा ?

बबई पुल बनाउँदा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदादिख नै बांगो देखिएको,उद्घाटन नहुँदै भत्किएको भनी अख्तियारमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताएका छन् ।

उक्त पुल बनाउन डिभिजन सडक कार्यालय नेपालगञ्ज र पर्साको पोखरियामा रहेको पप्पु कन्स्ट्रक्सनबीच २०६८/०३/२२ गते सम्झौता भएको थियो ।

पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाईन लेभल तथा पाइर हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटीपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको,फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको अख्तियारले बताएको छ ।






यो पनि पढ्नुहोस
पप्पुको बदमासीः निर्माण नसकिँदै भत्काउनुपर्ने भयो टेकु पुल

निर्माण सामाग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको र डिजाईन बमोजिम निर्माण नगरेको कारण लोड थाम्न नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टी भएको अख्तियारको दावी छ ।

उक्त पुल निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पाइर हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई स्वीकार गरी गुपचुप रुपमा काम गरेकाले उक्त काममा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो पाइएको अख्तियारको भनाइ छ ।






यो पनि पढ्नुहोस
सडक र पुलमा ‘पप्पु’को रजगजः सडक विभागका अधिकारी भन्छन्, हामी निरीह छौं

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *