१९ असोज, काठमाडौं । वर्तमान सरकारले ५ वर्षसम्म निरन्तरता पाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई आजका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । नेकपाको विवाद र सरकारको निरन्तरताबारे अनेक प्रश्न उठिरहेका बेला राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा त्यसको एकमुष्ठ जवाफ दिँदै यस्तो बताएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदीय समितिमा गरेको हस्तक्षेपलाई पनि आजका पत्रपत्रिकाहरुले जोडतोडका साथ उठाएका छन् । पत्रपत्रिकाहरुले लेखेका छन्– संसद्को विकास तथा प्रविधि समितिले गर्न लागेको निर्णय रोकेर मन्त्रीले संसदीय समितिमाथि नै हस्तक्षेप गरेका छन् ।
यसका अतिरिक्त डलरको थप वृद्धि भएको, र्आइजीपी हटाउने खेल शुरु भएको, रुद्राक्षको दानैपिच्छे मेसिन जडान गरिएको, सरकारले २ महिनामा पौडे ३ करोड बाँडेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।
त्रिशूली नदीको बीचबाट मजदुरले बालुवा झिक्दै गरेको तस्वीर छापेको कान्तिपुरले ५ वर्षसम्म यही सरकारले काम गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबीलाई लेखेको छ । समाचार अनुसार ओलीले ५ वर्षपछि हुने चुनावबाट नेकपा झन् बलियो भएर आउने दाबी गरेका छन् ।
सञ्चारमन्त्रीले संसदको विकास समितिमा गरेको हप्कीदप्कीलाई पनि कान्तिपुरले महत्त्वका साथ पहिलो पृष्ठमा लेखेको छ । कान्तिपुर लेख्छ– विकास समिति बैठकमा मन्त्री बास्कोटाले सभापति, सांसद् र सञ्चारकर्मीसमेतलाई हप्काउँदै समितिको निर्णय नै बदल्न लगाएका छन् ।
अन्नपूर्णमा रुद्राक्षको दानैपिच्छे मेसिन जडान गरिएको तस्वीरसहितको रोचक जानकारी छापिएको छ । अन्नपूर्णका अनुसार रुद्राक्षको स्वरुप विगार्न काँचा दानामा क्लिप लगाइएको हो । चिनियाँहह्ह्रुले गोला, अन्डा र थेप्चो आकारमा फल्ने रुद्राक्षलाई चिचिलामै क्लिप लगाएर अप्राकृतिक स्वरुप लिइरहेका छन् ।
मन्त्रीले संसदीय समितिको निर्णय उल्ट्याएको र प्रधानमन्त्रीले यही सरकारले ५ वर्षसम्म निरन्तरता पाउँछ भनेर व्यक्त गरेको भनाइलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।
डलरको भाउ बढेको, नेपाल प्रहरीको आईजीपी हटाउन चलखेल शुरु भएको, मिडियाविरुद्ध सञ्चारमन्त्री खनिएकोलगायत समाचार नागरिकको पहिलो पृष्ठमा छ ।



