Uncategorized

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

१७ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश का मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ । महिला अधिकारकर्मीले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

कञ्चनपुरबाट आएको महिला अधिकारकर्मीको टोलीले हत्यारालाई पक्राउ गर्न र छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनपछि उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मी साबित्री सुवेदीले निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै देशभर आन्दोलन भइरहँदा पनि सरकारले नसुनेको बताउँदै प्रदेश सरकारमार्फत ज्ञापन पत्र बुझाइएको जानकारी दिइन् ।

अधिकारकर्मी हेलेन श्रेष्ठले सरकारले हत्यारा पत्ता लगाउ र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको बताइन् ।

उनले महिलामाथि बलात्कार र हत्याका घटना दिनानुदिन बढ्दै जाँदा त्रासको वातावरण सिर्जना भएको बताउँदै प्रदेश सरकार गम्भीर नभएको आरोप लगाइन् ।

अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हत्यारा जतिसुकै बलियो भए पनि उम्कन नसक्ने बताउँदै प्रहरी केन्द्र सरकारकै मातहतमा रहेकाले दोषी पत्ता लगाउने विषयमा प्रदेशले केन्द्र सरकारलाई दवाव मात्रै दिन सक्ने बताए ।

उनले घटना भएदेखि नै आफूले केन्द्र सरकारसँग यसबारे निरन्तर जिज्ञसा राख्दै आएको बताए ।

मुख्यमन्त्री भट्टले अहिलेसम्म वास्तविक हत्यारा पत्ता नलाग्दा आफूलाई दुःख लागेको समेत बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *