१७ असोज, काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुनसहित १८ वर्षीय सोबहादुर तामाङ पक्राउ गरेको डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।
उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए । सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।



