Uncategorized

अष्ट्रेलियाको प्रतिष्ठित अवार्डका लागि डा. धिताल मनोनित

१५ असोज, काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्ने डाक्टर कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । हालै खुला भएको ‘प्राइड अफ अष्ट्रेलिया’ अवार्डको मनोनयनमा डा. धिताल पनि परेका हुन् ।

मुटु प्रत्यारोपण गरेर मानिसहरुको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ ।

सामान्यतया डाक्टरहरुले ब्रेन डेथ भइसकेको तर चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्दछन् । तर, सेन्ट भिसेन्टका नेपाली डाक्टर धितालले चल्न छाडिसकेको मुटुलाई पनि पुनः चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन् । हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील छन् ।

कलेजोलाई बरफमा राखेर बचाएजस्तो मुटुलाई राख्न सकिँदैन । हाल सर्जनहरुले बढीमा आधा घण्टासम्म रोकिएको मुटुलाई पुनः चालमा फर्काउन सक्छन् र ६ घण्टासम्म कृत्रिम तरिकाले पम्प गराउन सक्दछन् । कुनै व्यक्तिको मुटुको चाल बन्द भए पनि तत्काल मांसपेशीका कोषहरु मर्दैनन्, खाली मुटुले रगत पम्प गर्न छोडेको हुन्छ । त्यसलाई ‘सर्कुलेटरी डेथ’ भनिन्छ ।

डाक्टर धिताल भन्छन्, ‘सर्कुलेटरी डेथ भएको व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्छ र मुटु राखिएको व्यक्तिले केहीबेरपछि राम्रो अनुभव गर्छ, त्यो जत्तिको आनन्द अरु केही हुँदैन ।’

एसोसिएट प्रोफेसर डा. धितालले हासिल गरेको उपलब्धिका कारण अष्ट्रेलियामा प्रत्यारोपणका लागि उपलब्ध मुटुको संख्या दोब्बर बढ्न सक्ने टेलिग्राफले अनुमान गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *