Uncategorized

दुर्गममा अस्पताल बनाउन दौडेका कार्कीको दौड पूरा

२५ कात्तिक, काठमाडौं । दुर्गम गाउँमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौडेका धावक रामसुन्दर कार्कीले दौड पूरा गरेका छन् । झण्डै २५ किलोमिटर दूरी उनले २ घण्टामा पूरा गरे ।

कार्कीले २५१ औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए । सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ५ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोग स्वरुप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन् ।

यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको ललितपुरको गोदावारीस्थित गोदामचौर निवासी कार्कीले जानकारी दिए ।

कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *