Uncategorized

भारतका नेता यचुरीले भने : नेपाल र भारत जुम्ल्याहा दाजुभाइ हुन्

९ कात्तिक, काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले नेपाल र भारतबीचको सम्बन्धमा कसैले पनि म ठूलो दाइ हुँ भन्ने मानसिकता राख्न नहुने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी भाइ-भाइ पक्कै हौं, तर भारत दाइ र नेपाल भाइ भन्ने मान्यता गलत हो ।’

भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिन आयोजित कार्यक्रममा नेता यचुरीलेे दुई देशबीच सहअस्तित्वको सम्बन्ध रहेको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध जुम्ल्याहा दाजुभाइको जस्तो भएको उल्लेख गरे ।

‘जुम्ल्याहा भएपछि एउटालाई दुख्दा अर्कोलाई पनि दुख्नुपर्छ र एउटा खुशी हुँदा अर्को भाइ पनि रमाउन सक्नुपर्छ’, यचुरीले कार्यक्रममा भने ।

नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा बिहीबार काठमाडौं आइपुगेका मार्क्सवादी नेता यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका छन् ।

नेकपालाई सुझाव : सोभियत संघ पतनबाट पाठ सिक्नू

नेता यचुरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सोभियत संघ पतनको कारण बुझ्न सुझाएका छन् ।

सही समयमा सही निर्णय गर्न नसक्दा सोभियत संघ पुरै पतन भएको उल्लेख गर्दै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्न सत्तारुढ नेकपाका नेतालाई सुझाव दिएका हुन् । ‘सोभियत संघ माक्र्सवादी बिचारधारामा समाजवादी उदेश्यमा अघि बढ्दै थियो । तर, पुरै कोल्याप्स हुन पुग्यो’, उनले भने ‘त्यसबेला सिद्धान्तको लागू गर्नमा अथवा समाजवाद निर्माण गर्न खोज्दा जुन गल्ति भएको थियो त्यसले सोभियत संघ पतन हुन पुग्यो ।’

यचुरीले आफ्नो जमिन बर्लिन जर्मनीलाई किन दिने भन्दा सोभियत संघ विघटन हुन पुगेको इतिहास सुनाए । दोस्रो विश्व युद्धपछि जर्मनी कम्युनिस्ट र प्रजातान्त्रिक जर्मनी गरेर दुई भागमा विभाजित हुँदा बर्लिन सहर पनि दुई भाग भएको थियो र पूर्वबाट पश्चिम बर्लिन जाने जनतालाई छेक्न खोज्दा जर्मनीको कम्युनिस्ट शासन पतन भएको यचुरीले उल्लेख गरे ।

सोभियत संघ विघटन हुनुमा सही समयमा सही विश्लेषण हुन नसकेको प्रसंग पटक पटक उल्लेख गर्दै महासचिव यचुरीले नेपाललाई पनि प्राप्त राजनीतिक अधिकारलाई आर्थिक अधिकारमा रुपान्तरण गर्नेतर्फ लाग्न सुझाएका हुन् ।

हरेक देशको क्रान्ति संबन्धित देशको तत्कालिन परिस्थितिलाई हेरेर/मुल्याङ्कन गरेर भएको इतिहास रहेको भन्दै उनले नेपालमा अहिले रहेको बहुमत प्राप्त कम्युनिस्ट सरकार सफल होस भन्ने आफुहरुको पनि चाहना रहेको बताए ।

आगामी सन २०१९ मा हुने चुनावमा भारतमा कम्युनिस्ट पार्टीले देखाइदिने समेत यचुरीले उल्लेख गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगारी दिन्छु भनेर चुनाव जिते पनि जनताले त्यो प्राप्त गर्न नसकेको र कांग्रेसको हालत खराब भएका कारण आगामी चुनावमा भारतीय कम्युनिस्ट पार्टीले जित हासिल गर्ने उनको दावी थियो ।

विश्वभरका कमयुनिस्ट पार्टीहरुका लागि आन्तरिक अन्तरविरोध समस्याको रुपमा रहेको भन्दै महासचिव याचुरीले समस्याको पहिचान गर्न सके समस्याका रुपमा रहीरहन नसक्ने पनि बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नेपाल र भारतको सम्बन्ध सदिऔंदेखि सुमधुर रहेको बताए । भारतीय कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको सम्बन्ध पनि घनिष्ट रहँदै आएको उनको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *