Uncategorized

एक समय बार्सिलोना छाड्न चाहन्थे टेर स्टेगेन

९ कात्तिक, काठमाडौं । २०१४ देखि स्पेनिस क्लब बार्सिलोनाबाट खेलिरहेका मार्क एन्द्रे टेर स्टेगेन वर्तमान समय विश्व फुटबलका उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । बार्सिलोनाको हरेक जसो खेलमा उनको प्रभाव राम्रो छ ।

जर्मनीबाट विश्वकपको प्लेइङ सेटमा नपरेका स्टेगेनले बार्सिलोनामा हरेक खेलमा प्लेइङ सेटमा स्थान बनाएका हुन्छन् । तर, कुनै समय थियो उनै स्टेगेनले बार्सिलोना छाड्ने सोच बनाएका थिए ।

बार्सिलोनामा चिलीका गोलकिपर क्लाउडियो ब्राभो रहँदा प्लेइङ सेटमा को पर्ने भन्ने दुविधा भइरहेको हुन्थ्यो । ब्राभो म्यानचेस्टर सिटी गएपछि भने स्टेगेन निर्विकल्प जस्तो देखिएका छन् ।

‘जसले हरेक खेलमा आफ्नो भूमिका देखाउन चाहिरहेको हुन्छ । उसका लागि आलोपालो गरेर खेल्नु निकै कठिन हुन्छ’ स्टेेगेनले भनेका छन्,
‘ब्राभोसँग प्रतिस्पर्धा गर्न सजिलो थिएन । यसैले मैले कतिपटक त बार्सिलोना छाड्ने सोचेको थिएँ । हुन त सानो समयका लागि भनेर म बार्सिलोना आएको होइन तर पनि बेञ्चमा बसिरहेर ब्राभोको स्थान लिनु सहज थिएन ।’

आइतबार स्टेगेनसहितको बार्सिलोनाले ला लिगामा रियल मड्रिडविरुद्ध खेल्दै छ । मड्रिडमा क्रिष्टियानो रोनाल्डो नहुँदा बार्सिलोनालाई सहज हुन्छ ? भन्ने प्रश्नमा भने स्टेगेन केही बताउन चाहँदैनन् ।

‘म कोही एक खेलाडीमा केन्दि्रत हुनै चाहन्न । रियल मड्रिडमा हरेक खेलाडी राम्रा छन् । सबैको आफ्नै राम्रा विशेषता छ’ उनी भन्छन्, ‘क्रिष्टियानोले गरेका गोललाई हेरेर मानिसहरु खेलका बेला उनलाई याद गर्ने छन् । तर, सबैले आफ्नै खेलमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

गएका केही वर्षदेखि फुटबलमा गोलकिपरको भूमिका अझै बढीरहेको छ । बार्सिलोना जस्तो टिममा त अझ बल रोक्ने मात्रै होइन, पास मिलाउने भूमिकामा समेत देखिनुपर्ने हुन्छ । जसमा स्टेगेन अब्बल बनिरहेका छन् । तर उनी आफूमा कुनै छुट्टै विशेषता नभएको बताउँछन् ।

‘हरेक खेलाडी भिन्न हुन्छन् । ममा विशेष छुट्टै केही छैन । ला लिगाका हरेक टिममा निकै राम्रा किपर छन् । हाम्रो पहिलो काम नै बल जोगाउने हो । अनि अर्को कुरा खुट्टाको प्रयोगमा पनि ध्यान दिनुपर्छ’ उनी भन्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *