Uncategorized

अख्तियारका कर्मचारी पनि भ्रष्ट हुन्छन्ः पूर्वप्रमुख आयुक्त उपाध्याय

९ कात्तिक, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारका कर्मचारीहरुले समेत घुस लिने गरेको बताएका छन् ।

उनले आफू अख्तियारको प्रमुख रहँदा घुस लिएको कुरा आउने गरेको र आफूले तत्काल उनीहरुलाई अख्तियारबाट हटाउने गरेको सुनाए ।

सदाचारिता र सुशासन प्रबर्द्धनलाई सस्तागत गर्नका लागि वीरगञ्जमा आयोजित सत्यनिष्ठा सम्मेलनमा बोल्दै उनले अख्तियारका कर्मचारीहरु पनि यही समाजबाटै गएकोले कमीकमजोरी हुन सक्ने बताए । ‘अख्तियार त घुस खाएकालाई समात्ने निकाय हो, भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय हो, त्यहाँका कर्मचारीहरु त सबै इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्ने हो तर त्यसो हुँदैन । म प्रमुख हुँदासमेत अख्तियारका कर्मचरीहरुले नै बदमासी गरेको कुरा आयो । अहिले पनि छैन भनेर म भन्न सक्दिन,’ उनले भने, ‘जुन बेला त्यस्तो खबर आउँथ्यो, मैले उनीहरुलाई तत्काल कारबाही गरे, कारबाहीको अर्को विकल्प पनि छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीलाई समेत बोलाएर सोधपुछ गर्ने हैसियत राख्ने संवैधानिक निकाय भएकोले त्यहाँको प्रमुख र अन्य कर्मचारीहरु समेत बढी उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । ‘भारतमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग जत्तिको अधिकार सम्पन्न निकाय छैन, त्यहाँ बढी अधिकार पाएको सीबीआई हो,’ उनले भने, ‘सीबीआईलाई भन्दा बढी अधिकार अख्तियारले पाएको छ । त्यो अवसरलाई सदुपयोग हुनुपर्छ ।’

सदाचारी र निष्ठावान व्यक्ति बन्न सकस हुने भएपनि चाहेको खण्डमा सदाचारी बन्न सक्ने उनले बताए ।

काउन्टेबिलिटी ल्याब र वीरगञ्ज महानगरपालिकाको संयुक्त अयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध प्यानलिष्टहरुले सदाचार र निष्ठाका बारेमा आ-आफ्ना धारणा राखेका थिए ।

उनीहरुले सदाचार आफैंभित्रबाट खोजीनुपर्ने बताउँदै व्यक्तिले चाहेको खण्डमा निष्ठाको जीवन जिउन सकिने बताए ।

प्यानलिष्ट बरिष्ठ पत्रकार चन्द्रकिशोर, उद्योगी गणेश लाठ, प्राध्यापक सुष्मा तिवारी र अकोराबका महासचिव गोविन्द देवकोटाले सुशासन र सदाचारका लागि मिडियाको भूमिकाको बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा इन्टिगि्रटी आइडल २०१६ बन्न सफल वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म कुमार भुषालले सदाचार र निष्ठाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनीधि, सरकारी कर्मचारी, नागरिक समाज, पत्रकारहरुले सामूहिक रुपमा सदाचार र निष्ठाप्रति प्रतिबद्धता समेत जनाएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *