Uncategorized

गोरखा सिम्लेमा निजी आवास पुनर्निर्माणले तीव्रता पायो

५ मंसिर, गोरखा । भूकम्पको तीन वर्षसम्म पनि गोरखाको सिरानचोक गाउँपालिका-७ श्रीनाथकोटस्थित सिम्लेका आइत बरामको घर पुनर्निर्माण हुन सकेको थिएन । पैसा नभएकै कारण डीपीसी गरेर गारो लगाउने काम बीचमै रोकिएको थियो ।

बराम मात्रै होइन सिम्लेका अधिकांश पीडितहरुले घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सबैको एउटै समस्या थियो, आर्थिक अभाव । तर, निर्माण सामग्री सहयोग पाएपछि रोकिएको घर पुननिर्माणको काम सम्पन्न भएको छ ।

दलित, जनजाति र बराम समुदायको बसोबास रहेको उक्त गाउँका अधिकांश पीडितको घर अहिले पुनर्निर्माण भइसक्यो ।

असल छिमेकी नेपालको सहयोगमा उक्त गाउँका करिव ५० घर पुनर्निर्माण भएको वडा अध्यक्ष सुरज ढकालले बताए । ‘घर बनाउँदा बनाउँदै पैसा सकिएर धेरैको काम रोकिएको थियो,’ उनले भने, ‘कसैले डीपीसी गरेर छाडेका थिए, कसैले आधा बनाएर, तर असल छिमेकी संस्थाले सहयोग गरेपछि धमाधम घर बनाए ।’

प्रति घरधुरी ६० हजार बराबरको निर्माण सामग्री सहयोग गरिएको संस्थाका बिजयकुमार श्रेष्ठले बताए । व्यक्तिगत आवास पुननिर्माण सहायता परियोजना अन्तरगत अशक्त, एकल महिला र अति विपन्न परिवारलाई सहयोग गरिएको उनले जानकारी दिए ।

संस्थाको सहयोगमा पुननिर्माण भएका ५० घर सोमवार एक कार्यक्रमका बिच स्थानीयलाई हस्तान्तरण गरिएको छ ।

नयाँ घर पाएपछि स्थानीय खुशी छन् । ‘सरकारले दिएको अनुदान रकम सामान ढुवानी गर्दैमा सकियो, घर बनाउँदा बनाउँदै पैसा नभएर अलपत्र भयो, सहयोग पाएपछि घर बन्यो खुशी लागेको छ,’ बरामले भने ।

घर बनेसँगै अस्थायी टहराबाट छुटकारा पाएको भन्दै अर्जुन थापाले खुशी व्यक्त गरे । ‘टहरामा सर्पको बढी डर हुन्थ्यो बालबच्चा पनि डराउथे, अव त नयाँ घरमा आनन्द भयो,’ उनले भने ।

निजी आवास मात्र होइन उक्त संस्थाले श्रीनाथकोटमा भूकम्पले क्षती पुगेको स्वास्थ्यचौकी देखि विद्यालय भवन सम्म पुनर्निर्माण गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *