Uncategorized

अमेरिकामा नेपालीहरूले मनाए धन्यवाद दिवस

अमेरिका/ अमेरिकामा रहेका नेपालीहरुले  ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ हर्षोल्लासका साथ मनाएका छन् ।

अमेरिकामा क्रिसमसपछि को सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार, आफन्त, इष्टमित्र तथा साथीभाइलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरुद्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् ।

यसपर्वमा मुख्यरुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरु समेत यसमा खाने चलन छ ।

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडि व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन ।

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।

यो ‘थ्याङ्कसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापि, सबै निजि क्षेत्रबाट संचालनमा रहेका ठूला पसलहरु खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन ।

अमेरिकामा पहिला पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताले यसलाई निकै मनोरंजन गर्ने रुपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रुपमा मनाउने गर्छन । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ ।

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ ।  अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ ।

उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

यो पर्व सकिने बित्तिकै मानिसहरु पसलका ढोकाहरु अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन् ।

यस्तो छ इतिहास

वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो ।

यो पर्व हरेक वर्ष नोवेम्बरको चौथो बिहीबार मनाउने गरिन्छ।  युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यही बाट धन्यबाद दिवस सुरु भएको मानिन्छ ।

अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू  इङ्गल्याण्ड तथा भर्जिनिया बाट प्रारम्भ भएको भनिन्छ ।

धन्यवाद दिवसमा अमेरिका गतवर्ष सन् २०१७ मा राष्ट्रिय टर्की फेडेरेसन (महा संघ)का अनुसार ४५ मिलियन अर्थात् ४ करोड ५० लाख खाइएको जनाएको छ ।

यसवर्ष टर्की ५ करोड खपत हुने छ । यो पर्वमा अमेरिकामा रात्री भोजनको लागि १० जनाको लागि करिव ४८ डलर ९० सेन्ट खर्च पर्ने जनाएको छ ।

यसपर्वमा करिव ५ करोड ४० लाख अमेरिकनहरू कम्तिमा ५० माइल्सको यात्रा गरी आफ्ना परिवारसंग मनाउन आउने जानकारी अमेरिकामा बिमा,सवारी साधन ,बैंक आदि इत्यादिमा १ सय १६ वर्ष अगाडिदेखि नै काम गर्दै आएको ‘ ट्रिपल ए’ नामक संस्थाले जानकारी गराएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *