Uncategorized

संसदीय समितिलाई पर्यटनमन्त्रीको बचन : २४ घण्टाभित्र वाइडबढीको कागजात बुझाउँछु

७ मंसिर, काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।

सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उनले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताए । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै उनले अरु दोषी देखिए पनि कारबाही गर्ने बताए ।

समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

सत्तारुढ सांसद रावलले भने, ‘एउटा सामान्य कर तिर्‍यो भने पनि भौचर पाइन्छ । त्यहाँ तिरेको रकम र तिर्नेको नाम थर समेत हुन्छ । तर, कस्तो अचम्म यति ठूलो रकम खर्चेर ल्याइएको विमानबारे स्पष्ट जवाफ नै आएको छैन ।’

कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी रानालगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *