Uncategorized

प्रदेश ५ का शिक्षक कर्मचारी विद्यालय बन्द गरेर मन्त्रालय घेराउमा

७ मंसिर, बुटवल । नेपाल शिक्षक महासंघले प्रदेश ५ मा सबै विद्यालय बन्द गराएर शुक्रबार सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ । सामुदायिक विद्यालय बन्द गरेर शिक्षक तथा कर्मचारीले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।

बिहान १० बजे बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शनसहित मन्त्रालय पुगेका शिक्षक तथा कर्मचारीले केही बेर नाराबाजीसमेत गरे ।

शिक्षक महासंघले विभिन्न २६ सूत्रीय माग राखेर सरकारलाई पूरा गर्न दबाब दिएको छ । महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायी बनाउने प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकलाई स्थायी गर्न प्रक्रिया अघि बढाउनुपर्ने माग पनि उनीहरुले राखेका छन् ।

आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेकाले आन्दोलन गरेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताए । माग सम्बोधनका लागि सरकारलाइ दबाब दिन बिरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरिएको उनको भनाइ छ ।

महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाई आग्रह गरेपछि बिद्यालय बन्द गरेर शिक्षक—कर्मचारी आन्दोलनमा सहभागी भएका छन् । आन्दोलनमा सहभागी भएकाहरुको शिक्षक तथा कर्मचारीको हाजिरीसमेत लिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *