Uncategorized

कथाः शुल्क तिर्न बिर्सिएको समाचार

करिब एक महिनापछि काठमाण्डौंमा एक कुलीनका छोराको बिहे अर्का कुलीनकी छोरीसँग हुँदै थियो । दुइटै कुलीनलाई खेमराज राम्रोसँग चिन्दथे । चिन्न त तिनले पनि खेमराजलाई चिन्दथे, तर खासै भाउ दिन्नथे । तैपनि खेमराज तिनीहरूसँग नजिकिन खुब खोज्थे ।

दुवै कुलीन समाजमा प्रशस्तै मान, सम्मान, धन, उद्यम भएका घरानियाँ भनेर कहलिएका थिए । बिहेमा उनीहरू दुबैले चिनेजानेका धेरैलाई बोलाइसकेका थिए ।

करिव दुई महिना अघिदेखि नै यो बिहेको हल्लाले बजार गर्माएको थियो, तर खेमराजलाई न बेहुलातर्फको, न न बेहुलीतर्फको निम्ता आयो । बाहिर कतै निस्क्यो कि त्यही बिहेको कुरो हुन्छ । कतिपयले त सोध्थे पनि- ‘खेमराजजी तपाईंलाई पनि छ होइन निम्तो ?’ उनी नसुनेझैं गरेर टार्थे । कतिलाई आउँदै होला भनिदिन्थे, कतिपयलाई ‘आ’को छ, तपाईं र मसंगै जानुपर्छ’ भन्थे ।

एकाध उद्योग खोलेका उनी आफूलाई देशको ठूलै उद्योगपति सम्झन्थे र सम्झन्थे आफूले देशलाई ठूलै गुन लगाएको । आफ्नो तारिफका निकै भोका थिए उनी । चर्चामा आइरहन, मिडियामा छाइरहन मनपराउँथेे । यसका लागि उनी जति खर्च गर्न पनि पछि पर्दैनथे । साम, दाम, दण्ड, भेद- सब अस्त्र प्रयोग गर्दथे । परिणामस्वरूप बेला बेलामा मिडियामा उनको चर्चा भैरहन्थ्यो ।

कहिलेकहीं त खेमराजको चर्चाले गोल्छा, चौधरी, खेतान जस्ता उद्योगपतिलाई पनि ओझेलमा पारेजस्तो लाग्थ्यो, मानौं यो देशका ठूला उद्योगपति अरू कोही नभएर उनी नै हुन् ।

खेमराज पाँच सयको छात्रवृत्ति दिन ५० हजार खर्च गर्थे । चर्चा छात्रवृत्तिको हुन्थ्यो, खर्चको हुँदैनथ्यो । चिनजानका एकाध गन्यमान्य आइदिहाल्थे, छात्रवृत्तिको समाचार बनिहाल्थ्यो । अरुले नबनाए पनि उनका खल्तीका पत्रकारहरुले ‘उद्योगपति खेमराजद्वारा छात्रवृत्तिको घोषणा’ शीर्षकमा समाचार छापिदिन्थे ।

हरेक हप्ता/दश दिनमा ऊनीसम्बन्धी यस्ता केही न केही समाचार आइरहन्थे । कहिले अन्तरवार्ता त कहिले ‘प्रेरक व्यक्तित्व’ भनेर उनीबारे आलेखहरु आइरहन्थे । समाचार आएन कि उनी आफ्ना खल्तीका पत्रकारको खल्ती भरिदिहाल्थे । यति गरेपछि केही न केही प्रशस्ति छापिन्थ्यो ।

यति हुँदा पनि दुनियााले भाऊ नदिएकोमा ऊनी आक्रोशित हुन्थे । ‘यहाँ उद्यमशीलता, क्षमता र योग्यताको कदर नै छैन’ भन्थे । छोराले अष्ट्रेलियाबाट फोन गर्दा ‘उद्यमशीलताको कदर नहुने यस्तो देशमा के बस्नु’ भनेर आक्रोश पोख्थे ।

बिहेको निम्तो कार्ड नपाउँदा आज उनलाई त्यस्तै खपिनसक्नु झोंक चल्यो । के गर्ने, कसो गर्ने औडाहा र हीनतावोध पनि भयो । आफूलाई खानदानी, घरानियाँ, धनवान देखाउन कुनै कसर बााकी नराख्दा पनि कुलीनहरूको चालढाल, रहनसहन जम्मै सिकेर व्यवहारमा उतार्दा पनि, कुलीनहरूकै हाराहारी चल अचल सम्पति पनि थुपार्दा पनि यिनीहरूले नपत्याउँदा उनलाई निक्कै दिक्क लाग्यो ।

तर, पछि हट्ने खालका मान्छे थिएनन्, खेमराज । जुनसुकै कला देखाएर भए पनि मुकाममा पुग्ने उनको बानी थियो । आफ्नो मुकामका अगाडि ईज्जत, प्रतिष्ठा, नीति, नियम, धर्म, संस्कृति, रीतिरिवाज सब तपसीलका कुरा थिए । त्यसैले अब कुनै उपाय निकालेर निम्ता त मगाउनै पर्‍यो भन्नेतिर लागे उनी ।

त्यो निम्ता कार्ड उनको विचारमा कुलीनीकरणको एउटा ज्वलन्त प्रमाण हुन्थ्यो । ‘म पनि खानदानी मान्छे हुँ, यी यस्ता यस्ताले भाउ दिन्छन्’ भनेर देखाउने बलियो सर्टिफिकेट हुन्थ्यो ।

खेमराजले कुनै उपाय लगाएर ‘सपरिवार’ लेखिएका दुबैतर्फका कार्ड हात पारे । ती कार्डलाई उनले यति माया गरे कि त्यति माया त विशिष्ट श्रेणीमा पास गरेको विद्यार्थीले आफ्नो मार्कसीटलाई पनि गर्दैन ।

उनी दुबै कार्डलाई तकियामुनि राखेर सुते, तर अधिक खुशीले निन्द्रा लागेन । राति उठेर ती कार्डलाई घरी सुम्सुम्याए, घरी निकालेर सरर पढे- एकपटक होइन, अनेक पटक । आफ्नो नाम लेखिएको ठाउामा धेरैपटक सुम्सुम्याए । रातैभरि उनलाई उली र तुली भइरहृयो ।

बिहानै कार्ड निकाले, फेरि मजाले सुमसुम्याए । हेरे । घोरिए ।

त्यो दिनदेखि उनले फोन गर्ने वा घरमा आउने कसैलाई पनि निम्तो आ’को कुरा भन्न छुटाएनन् । उनले कार्डलाई घाँटीमा झुन्ड्याएर हिँड्ने बाहेक सबै गरे । सम्भ्रान्तहरूसँग पार्टीमा रम्दै तस्वीर खिचेको कल्पना गरे । एक से एक कुलीनसाग खिचेका पोज पोजका तस्वीरहरू बैठक कोठामा झुण्ड्याएको सम्झे । ती तस्वीरहरू फेसबुकमा अपलोड गरेको, लाइक र कमेन्टको बाढी आएको कल्पिँ दै रोमाञ्चित भए ।

बेलुकी उनले आफन्त र नजिकका मान्छेहरूलाई घरमा बोलाएर सानोतिनो पार्टी नै गरे । पार्टी केको खुशीमा भन्ने कुरा चाहिँ रहस्यमै राखे । उनलाई अब आफू यो दायराबाट उच्च घरानियाँ सर्कलमा उक्लन लागेको कल्पनाले रोमाञ्चित पारिरहृयो ।

पार्टीमा दुबै कार्डलाई उनले सबैले देख्ने गरी ‘टी टेबल’मा सजाएर राखेका थिए । जसले देखेन, उसलाई बोलाएरै देखाए । ‘दुबैतिरको निम्तो छ, खै कता जाउँ, बेहुलाका बाउ नजिकका साथी, बेहुलीका बाउ त झन् सागै गुच्चा खेलेका साथी’ भने । उनको पार्टीमा आ’को छ, उनकै खा’को छ, सबैले कुरा नपत्याए पनि पत्याए झैं गरे । खेमराज चाहीँ पार्टी अवधिभर कार्ड छेउछाउ नै डटिरहे, ता कि कार्ड नहराओस् । अनि कोही कार्ड नहेरी जान नपाओस् ।

त्यसको भोलिपल्ट खेमराजले दुबै कार्डलाई लेमिनेशन गरेर राखे । मानौं उनको जिन्दगी एउटा माल हो, जसको गुणस्तर प्रमाणपत्र हुन् ती कार्ड ।

०००

आज त्यही बिहाको दिन । अरू दिनभन्दा निकै चाँडै उठे उनी । नुवाई धुवाईलगायत सारा नित्यकर्म सकेर कुकुर डोर्‍याउादै एकछिन मर्निंग वाकमा निस्कन के लागेका थिए, ल्याण्डलाइन फोनको घण्टी बज्यो । त्यो घण्टीले उनकी श्रीमती पनि ब्यूझिँइन् ।

खेमराजले फोन उठाएर हेलो भन्नासाथ उताबाट एकै सासमा कुरो सकियो । कुरो पत्याउन निकै मुश्किल पर्‍यो । उनका हातगोडा काँपे । असिनपसीन भए । तर, एकछिन सोचेर तुरुन्तै सम्हालिए अनि पसीना पुछे ।

‘कसको फोन?’ श्रीमतीले सोधिन् ।

श्रीमतीलाई उनले सब कुरा बताए । अब के गर्ने, त्यो पनि बताए । श्रीमती उनको आइडियाबाट प्रभावित भइन् ।

दिउँसो सपरिवार लागे बिहातिर । त्यो दिनको बिहे र पर्सिपल्टको पार्टी भ्याएर उनीहरू नेपालगञ्जमा रहेको आफ्नो पुर्ख्याैली घरमा गए, जहाँ खेमराजका भाइहरू आमाको काजकिरियामा थिए । उनी पनि त्यहीँ मिसिए ।

भाइहरूले ‘दाजु, किन यति ढिलो ?’ भनेर सोध्दा खेमराजको मनले भनिरहेको थियो- ‘आमाको काजकिरिया त आज आएर गर्दा पनि भयो, तर त्यस्तो अवसर त फेरिफेरि आउने ठेगान थिएन ।’ तर, उनले यसो भनेनन् । सुँक्कसुाक्क गर्दै बसे ।

आमाको काजकिरिया सकेपछि परिवारलाई त्यहीँ छाडेर एक्लै काठमाण्डौं फर्किएका खेमराज त्यसको दुई दिनपछि हर्ट अट्याकको कारण अचानक बिते । उनको मृत्युको यो खबर कुनै श्रव्य, दृश्य र पाठ्य मिडियामा आएन ।

बाँचुञ्जेल आफ्नो हरेक गतिविधिलाई समाचार बनाउन शुल्क तिरेका उनले आफ्नो निधनको समाचार बनाउने शुल्क भने तिरेका थिएनन् । मलामीमा पनि परिवार र नजिकका नातागोता बाहेक अरूको उपस्थिति नगण्य थियो ।

उनको परिवार र उद्योगका तर्फबाट आउने श्रद्धाञ्जली विज्ञापन भने पत्रपत्रिकाहरूमा देखियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *