काठमाडौं । एभरेस्ट प्रिमियर लिगको आगामी संस्करणका लागि चितवन टाइगर्सले आयरल्यान्डका पाउल स्टिर्लिङलाई अनुवन्ध गरेको छ ।
२८ वर्षीय स्टिर्लिङ आयरल्यान्डका विष्फोटक ब्याट्सम्यान र विकेटकिपर हुन् । ईंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका उनीसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव पनि छ । यूएईको शारजहामा आयोजिन टी-१० लिगमा उनी केरला किंग्सबाट खेलिरहेका छन् ।
बुधबारको खेलमा उनले आफ्नो टिमलाई बिजयी बनाउने क्रममा १४ बलमै ४० रन हानेका थिए ।
स्टिर्लिङले आयरल्यान्डबा १ टेस्ट, एक सय ओडीआई र ५२ टि-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । साथै उनीसँग ६५ प्रथत श्रेणीको खेल र एक सय ८० लिस्ट ए मान्यताप्राप्त खेलको पनि अनुभव छ । ईपीएल सुरु हुनुभन्दा केही दिन अगाडि उनी काठमाडौं आइपुग्ने छन् ।
‘उनको आगमनले टोलीलाई नयाँ जोश दिने र लक्ष्यमा पुर्याउनउे विश्वास हामीले लिएका छौं’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले भने ।
बाँकी दुई विदेशी खेलाडीको कोटामा पनि विश्वस्तरीय खेलाडी ल्याउने लक्ष्य रहेको उनले बताए ।
चितवन टाइगर्सले यसअघि ईंग्ल्यान्डका म्याक्स होल्डेन र न्यूजिल्यान्डका जेम्स फुलरलाई ल्याउने तयारी गरेको थियो । तर, उनीहरु आउन नसक्ने भएको भट्टराईले जानकारी दिए ।
दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवनमा पृथु बास्कोटा, दीलिप नाथ, ललितसिंह भन्डारी लगायत खेलाडी छन् ।



