Uncategorized

‘विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय ल्याउन सहज छैन’

४ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले विद्यालय बाहिर रहेका बालबालिका र किशोरीहरुलाई विद्यालय ल्याउनु चुनौतीको विषय भएको बताएका छन् ।

प्रदेश सरकार र महानगरपालिकाले ठूलो खर्च गरेर उमेर पुगेरपनि विद्यालय बाहिर रहेका बालबालिकालाई ‘विद्यालय भर्ना अभियान मार्फत’ विद्यालय पठाउन आग्रह गरेको भएपनि सोचे अनुसार सफलता नपाएको उनको भनाइ छ ।

किशोरी शिक्षा कार्यक्रम (गेट) का सुपरभाईजरहरुको सुपरीवेक्षण तथा प्रतिवेदन सम्बन्धी क्षमता अभिवृद्धिका लागि वीरगञ्जमा आयोजित तालिमको उद्घाटन गर्दै मेयर सरावगीले विविध कारणले दलित सिमान्तकृत, समुदायका परिवार नै सन्तानलाई शिक्षा दिन गम्भीर नभएको बताए ।

‘कतिपय परिवारले नै चाहँदैनन, कि सन्तानले पढोस र अघि बढोस, किशोरीहरुलाई पढाउन झनै समस्या छ, आग्रह गरेर बच्चा पढाउन लगायो, बीचमै घरमा ल्याउँछन् ।
‘कतै भाइबहिनी हेर्न लगाउँछन्, कतै बाख्रा चराउन पठाउँछन्,’ उनले भने, ‘यस्तो गर्नेमा दलित सीमान्तकृत, समुदायका मानिस बढी छन् । त्यस्ता समुदायका कतिपय परिवारसँग बालबालिका पढाउनका लागि साधन स्रोत नै छैन, उनीहरुलाई स्थानीय सरकारले नै साधन स्रोत जुटाईदिनुपर्ने अवस्था छ । ‘

शिक्षित छोरीले घर र माइती गरेर दुईवटा परिवार सुधार गर्ने भएकोले बालिकाको शिक्षामा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साका संयोजक कृष्णप्रसाद सिग्देलले विद्यालय शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालय ल्याउन निरन्तर अभियानहरु सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

युनिसेफ नेपाल प्रदेश नं २ र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले अयाोजना गरेको तालिम ५ दिनसम्म चल्नेछ ।

कार्यक्रममार्फत प्रदेश २ को ५ वटा जिल्लाका ३० वटा स्थानीय तहमा ३ सय वटा अनौपचारिक कक्षा सञ्चालन गरेर १० देखि १४ वर्षसम्मका किशेारीहरुलाई शिक्षा प्रदान भइरहेको छ ।

पहिला किशोरी कक्षामा अध्यापन गराएर प्रदेश २ मा ७ हजार ५ सय र पर्सा जिल्लामा ३ सय ७५ जना किशोरीहरुलाई विद्यालयमा भर्नार् गर्ने लक्ष्य कार्यक्रमको रहेको संस्थाका अध्यक्ष ईब्राहिम देवानले जानकारी दिए ।

विगतका वर्षमा सञ्चालन गरिएको किशोरी कक्षा कार्यक्रममा अध्ययन गरेका कतिपय किशोरीहरुले अहिले उच्च शिक्षा हाँसिल गर्नुको साथै किशोरी कक्षा सञ्चालन गर्न सक्ने योग्यता हाँसिल गरिसकेको उनको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *