Uncategorized

बस्ती नजिक अस्पतालको ‘डम्पिङ साइट’, स्वास्थ्यमा असर पार्ने चिन्ता

३ मंसिर, झापा । झापाको एक अस्पतालबाट निस्किने फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा वातावरण प्रदूषित भएको स्थानीयले गुनासो गरेका छन् ।

जिल्लाको दमक—२ स्थित आम्दा अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् ।

अस्पतालबाट निस्कने सिरिन्ज लगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदुषण हुने गरेको छ । अस्पतालको फोहोर थुपार्ने, गाड्ने र जलाउने स्थान बस्ती नजिक हुँदा स्वास्थ्यमा असर परेको दमक—२, संगम टोलकी सीता श्रेष्ठ बताउँछिन् ।

फाहोर जलाउँदा निस्कने दुर्गन्ध र धुँवा संगम टोल, खरखरे आम्दा, एभरेष्ट लाइनका घरभित्रै पुग्ने गरेको स्थानीय बताउँछन्

अस्पतालबाट निस्कने कतिपय प्रकारका फोहोरलाई मेसिनले टुक्र्याएर जलाउने गरेको भएपनि त्यहाँबाट उत्पन्न हुने दुर्गन्धले आसपासका बासिन्दालाई असर पुग्ने गरेको उनको भनाइ छ । फाहोर जलाउँदा निस्कने दुर्गन्ध र धुँवा संगम टोल, खरखरे आम्दा, एभरेष्ट लाइनका घरभित्रै पुग्ने गरेको उनले बताइन् ।

अस्पतालजन्य फाहोर खुल्ला ठाउँमा राख्दा वा त्यसबाट निस्कने धुँवा हावाको माध्यमबाट संक्रमण फैलन सक्ने भएको पनि अस्पतालले मानव स्वास्थ्यमा चासो देखाएको छैन ।

फाहोर र प्रदुषणकै कारण पहिलेभन्दा धेरै लामखुट्टे, झिँगा लाग्ने गरेकोले स्थानीय झाडापखाला लगायतका संक्रमण फैलन सक्नेमा चिन्तित छन् । फाहोरमैला उचित व्यवस्थापनका लागि आफुहरुले नगरपालिका र अस्पताल प्रशासन छलफल गरेपनि कसैले चासो नदिएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार अस्पताल प्रशासनले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यसँगै पर्यावरणमा समेत प्रतिकुल असर पर्दै गएको छ ।

चिकित्सकका अनुसार स्वास्थ्य संस्थाहरुबाट निष्कने प्लाष्टिकजन्य फोहोरहरुलाई जलाउँदा हावासँगै डायोक्सिन नामक अति विषालु क्यान्सरजन्य ग्याँस हावामा फैलिने र औषधिका सिसाहरु तथा त्यसमा बाँकी झोल औषधी, औषधीको पाताहरुलाई उचित प्रशोधन विना माटो या पानीमा मिल्न दिँदा माटोको उर्वराशक्तिमा, जलाशयहरुको पानीको गुणस्तरमा तथा जलचर प्राणीहरुमा एकदमै नकारात्मक प्रभाव पर्छ ।

अस्पताल प्रशासनले भने अस्पतालबाट निस्कने फोहोरलाई अति जोखिम, कम जोखिम र जोखिममुक्त गरी तीन भागमा वर्गिकरण गरेर जलाउने, गाड्ने वा नष्ट गर्ने गरेको जनाएको छ । अस्पताल छेउछाउ बस्ती बढ्दै गएकाले आगामी दिनमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गरेर काम गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन ढकालले बताए ।

– शम्भु दाहालबाट

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *