Uncategorized

२२ वटा मुलुकको अवैध मुद्रासहित भारतीय युवक पक्राउ

२ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २२ वटा मुलुकको मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतको उत्तरप्रदेश राज्यको जयनपुर बस्ने ३७ वर्षका रामनाथ यादवलाई पक्राउ गरेको हो ।

आइतबार विहान वीरगञ्ज महानगरपालिका १६ भन्सार मुलगेटबाट सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म पर्साका सशस्त्र प्रहरी नायब निरीक्षक सुदेश राईको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनको साथबाट नेपाली रुपैयाँ १४ हजार ६५, भारतीय रुपियाँ २५ सय, मलेसियन रिंगेट १२, हङकङ डलर ४२, सुडानी पाउन्ड ३ सय, चाईनीज युएन १८, तान्जानिया डलर ४६ हजार, भेदनाभी ६ हजार, ओमन डलर २ सय, साउदी अरब रियाल ३, कतारी रियाल ५, श्रीलंकाको ४०, म्यानमार ५ सय, इन्डोनेसियाली १५ हजार, कुवेती डलर ० दशमलब ५, केन्या १ सय, नाईजेरिया १०, फिलिपिन्स ५०, युएई १०, बंगलादेश १२, लेवनान २ हजार, रसियन १० हजार रकम र नचिनेको सिक्का १७ थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी विभिन्न बैंकका ५३ वटा एटीएम कार्ड, ३० थान मनी ट्रान्सफरको कार्ड, ४४ थान आइडी कार्ड, मतदात परिचयपत्र, विभिन्न किसिमका नक्कली गहना, दुखिया पासवानको नाममा जारी भएको पासपोर्ट, रामनाथ स्वयंको भारतीय पासपोर्ट र भोटर आईडी प्यान, आधार कार्ड समेत बरामद भएको छ ।

वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्काले थप अनुसन्धानका लागि यादवलाई नेपाल प्रहरीको जिम्मा लगाइसकेको जानकारी दिए ।

‘मानिस हेर्दा पकेटमार जस्तो पनि देखिन्छ, एकदमै साधारण हिसाबको छ । सोधपुछका क्रममा काठमाडौमा कवाडीको काम गर्ने गरेको बताएको छ’ उनले भने ‘एटीएम र मनी ट्रान्सफरको कार्ड धेरै देखिएको छ । शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पनि हुन सक्छ । अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएका छौं ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *