Uncategorized

राष्ट्रिय सडक सञ्जालमा जोडियो दुनै

१ मंसिर, काठमाडौं । नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ ।

जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो ।

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ ।

कर्णाली प्रदेश अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ ।

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हुँदै दुनै पुग्नेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *