Uncategorized

काम गर्ने डायस्पोरिक साहित्यकार, मकै खाने एनआरएन !

१ मंसिर, काठमाडौं । धरानमा ०३६ सालको विद्यार्थी आन्दोलनपछि ०४६ सम्म करिब एक दशक धेरै युवाहरु साहित्यमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए । उनीहरुले खोलेको ‘बाँझघरा अध्ययन समूह’ले पर्चा कविता आन्दोलन, सुनसरी साहित्य प्रतिष्ठान, साहित्य अनुसन्धान परिषद् जस्ता अनेक खालका साहित्यिक संस्था खोलेको थियो ।

यिनै गतिविधिमा सक्रिय रहने मध्येका थिए- रमेश केसी, मनोज मेयाङ्बो र कृष्ण बजगाईंलगायतका व्यक्तिहरु । प्रजातन्त्र प्राप्तिपछि रमेश केसी साहित्यकारकै रुपमा प्रसिद्ध भए भने मनोज राजनीतिमा लागेर धरानको मेयर बने । तर, कृष्ण बजगाईं भने रेडियो नेपालमा जागिर सुरु गरेर पछि सुटुक्क जर्मनी हुँदै बेल्जियमतिर छिरे ।

१२ वर्षको बेल्जियम प्रवासपछि ८ वर्ष अघि बेलायत बसाईं सरेका बजगाईं अहिले डायस्पोरिक नियात्राकारका रुपमा परिचित छन् । उनका दुई नियात्रा संग्रह, तीन लघुकथा संग्रह, एउटा कथा सङग्रह र दुईवटा हाइकु सङ्ग्रह प्रकाशित भएका छन् ।

त्यसबाहेक उनको नेपाली साहित्यकारसँग लिइएको डिजिटल वार्ता संग्रह पनि प्रकाशित छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका संस्थापक अध्यक्ष तथा केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत भइसकेका छन् ।

आफ्नो पुरानो परिचय लुकाएर नयाँ पहिचान बनाएका कारण बजगाईलाई ०३६ सालपछिका सामाजिक-राजनीतिक अभियन्ता मध्येका एक हुन् भनेर पत्याउन गाह्रो पर्छ । उनी पनि आफ्नो पुरानो कुरा उप्काउन चाहँदैनन् ।

अघिल्लो महिना अन्तरराष्ट्रिय हाइकु सम्मेलनमा बेलायती नेपालीको प्रतिनिधित्व गर्दै जापान आएका बेला अनलाइनखबरकर्मी अश्विनी कोइरालासँग उनले आफ्नो पुरानो राजनीति र साहित्यिक सक्रियता लुकाउन खोजे ।

नेपालमा उनको गतिविधिलाई सम्झनेहरु धेरै भेटिएपछि पुनःसम्पर्क गरेर यो कुराकानी गरिएको हो ।

अहिले कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ?

अमेरिकाको सिकागोस्थित मेडिसन भन्ने स्थानमा लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा साहित्यिक कार्यक्रममा भइरहेको छ । त्यही कार्यक्रममा विजय मल्ल कविता प्रतियोगिता पनि हुँदैछ । त्यसको निणर्ायक मण्डलका नाताले उता जाँदैछु ।

हाम्रो प्रकाशन गृह समकालीन प्रतिष्ठानमार्फत एउटा उपन्यास प्रकाशित भएको छ । त्यसको विमोचन कार्यक्रमसमेत भएकाले बेलायतबाट उता जाँदैछु ।

नेपाल छाडेपछि पनि साहित्यप्रति झन् बढी सक्रिय हुनु भएको हो ?

भारतलाई छाड्ने हो भने पनि विदेशमा ३५ लाखभन्दा बढी नेपाली छन् । उनीहरुले रहर र विभिन्न बाध्यतामा नेपाल छाडेका हुन् । तर, नेपालीपन छाडेका होइनन् ।

गैरआवासीय नेपाली नामको संगठनबाट कामभन्दा पनि हल्ला धेरै भएको छ । दुई-चार गैरआवासीय नेपालीहरुले गरेको ठूला लगानी देखाएर हामी पनि यस्तो काम गर्दैछौं भनेर धेरै बाठा गैरआवासीयहरुले सरकारलाई गुमराह पारिरहेका छन्

डायस्पोरा सम्बन्धी भएका अनुसन्धानहरुले पनि संसारभरि नै आफ्नो देश छाड्नेहरुले विभिन्न संगठन बनाएर आफ्नो भाषा र संस्कृति बचाउने काम गरिरहेका हुन्छन् भन्ने देखाएको छ । नेपाल, चीन र भारत जस्ता देशका नागरिकमा यो अझै बढी देखिन्छ ।

तर, नेपालको हकमा के भइदियो भने नेपालीपनको भावनालाई राजनीतिक दलहरुले दुरुपयोग गरिदिए । यसले मेरो चित्त कुँडियो । आफ्नो तर्फबाट थोरै भए पनि नेपाली भाषा साहित्यका लागि काम गरौं भनेर सुरु गरेको हुँ ।

के भएर चित्त कुँडियो ?

नेपालीहरु जहाँ-जहाँ छन्, ती सबै देशहरुमा विभिन्न जातीय र सांस्कृतिक संगठन छन् । एउटा दलका मात्र छैनन्, सबैजसो भातृ संगठनहरु छन् । उनीहरुलाई विभिन्न किसिमका पद दिएर यहाँ ठूलो मानिस बनाइएको छ । यी संगठनकै कारण नेपाली नेताहरु विदेश आउने, बस्ने र घुम्ने गर्दछन् ।

त्यति मात्र होइन, उनीहरुको राजनीतिलाई सघाउन चन्दाका रुपमा खर्च पनि पठाइदिन्छन् । यसले यताका नेपालीलाई राजनीतिक पहुँच बढेजस्तो देखिए पनि यसले प्रवासी नेपालीलाई एक अर्कामा फुटाउने र टुक्राउने काम गरेको छ । देशलाई पनि यसले फाइदा गरिरहेको छैन ।

राजनीति हुनु नराम्रो हो र ?

परदेशमा भएका कारण यहाँका नेपालीहरु साह्रै व्यस्त हुन्छन् । यस्तो बेलामा थोरै छुट्टीको समयमा आफ्ना दाजुभाइसँग भेटेर आफ्नो देशका लागि, भाषा र संस्कृतिका लागि धेरै गर्न सकिन्थ्यो । विदेशमा थोरै नेपाली भएका कारण सबैबीच एउटै नाता गाँसिनु महत्वपूर्ण कुरा हो । तर, एउटा दलको मान्छे अर्को दलको कार्यक्रममा नजाँदा र कहिलेकाहीँ मुद्दा नै फरक हुँदा एक अर्काबीच शत्रुताको भावना पनि विकास भएको देखिन्छ । विदेशमा बसेर नेपालका लागि जति गर्न सक्थ्यौं, यस्ता कारण हामीले धेरै गर्न सकेका छैनौं ।

तर, यति हुँदाहुँदै पनि गैरआवासीय नेपालीहरुले गरेका काम निकै महत्वपूर्ण छन् भन्ने लाग्दैन ?

गैरआवासीय नेपाली नामको संगठनबाट कामभन्दा पनि हल्ला धेरै भएको छ । दुई-चार गैरआवासीय नेपालीहरुले गरेको ठूला लगानी देखाएर हामी पनि यस्तो काम गर्दैछौं भनेर धेरै बाठा गैरआवासीयहरुले सरकारलाई गुमराह पारिरहेका छन् ।

दुई-दुई वर्षमा हुने एनआरएनको सम्मेलनलाई सरकारले २५ औं लाख दिन्छ । नेपाली मिडियाहरुले ठूलो ठाउँ दिन्छन् । कुराहरु सुन्दा यस्तो लाग्छ, सारा देश नै गैरआवासीय नेपालीहरुले बनाउनेवाला छन् भन्ने भ्रम पर्ने गरेको छ । नजिकबाट बुझ्दा यी सबै कुरा निरर्थक लाग्छन् ।

खासमा प्रवासी नेपाली ती देशका सद्भावना राजदूत हुनुपर्छ । आफ्नो भाषा संस्कृतिको विकासका लागि काम गर्नुपर्छ । विदेशमा पनि आफूलाई बचाउनुपर्छ । प्रवासी नेपाली साहित्यकारहरुले त्यो गरिरहेका छन् । काम गर्ने डायस्पोरिक लेखक, मकै खाने एनआरएनए भएका छन् ।

गैरआवासीय नेपालीले केही गर्न सकेका छैनन् भन्ने तपाईंको निष्कर्ष हो ?

केहीले गरेका छन्, धेरैले गरेका छैनन् । यता नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा भने निकै ठूलो काम भइरहेको छ । यो चुपचाप भइरहेको छ ।

तपाईंलाई लाग्दो हो, गैरआवासीय नेपाली नै डायस्पोरिक साहित्यकार हुन् । त्यसो होइन । सबै डायस्पोरिक कवि-लेखक गैरआवासीय नेपाली हुन् । तर, सबै गैरआवासीय नेपाली चाहेर पनि लेखक हुन सक्दैनन् । यस्ता लेखक कविहरुले ठूलो हल्ला गरेका छैनन् । तर, देशका लागि महत्वपूर्ण काम गरिरहेका छन् ।

विदेशमा बसेर पनि नेपाली भाषा र संस्कृतिका लागि  बिनाकुनै स्वार्थ काम गर्नु महत्वपूर्ण कुरा हो । गैरआवासीय नेपालीले नेपालमा लगानी गरे भने प्रतिफलको अपेक्षा पनि गर्छन् तर डायस्पोरिक लेखकले नेपाली भाषा र साहित्यका लागि गरेको लगानीको प्रतिफल खोज्दैनन् । यो फरक बुझ्न जरुरी छ ।

यसको केही उदाहरण दिन सक्नुहुन्छ ?

आज नेपालमा जति पुस्तक प्रकाशन भइरहेका छन्, ती पुस्तकमध्ये आधा भन्दा बढी नेपाल बाहिर गइरहेका छन् भन्ने कुरा धेरैलाई थाहा छैन । कतिपय प्रकाशन संस्था त विदेश पुस्तक पठाउनकै लागि खोलिएका छन् ।

विदेश बस्ने नेपालीले नेपाली पुस्तक पढ्ने कुरालाई निकै महत्व दिएका छन् । नेपालीहरुले विदेशबाट डलर मात्रै पठाएका छैनन्, उताबाट पुस्तक पनि मगाइरहेका छन् । पठन संस्कृतिको विकास गर्न अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज र विश्व नेपाली साहित्य समाज जस्ता संस्थाले ठूलो मद्दत गरेका छन् । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले त आधा विश्वमै आफ्नो सञ्जाल विकास गरिसक्यो ।

विश्व नेपाली साहित्य महासंघले पनि एक दर्जन देशमा साहित्यिक गतिविधि गरिरहेको छ । यी संस्थाले जहाँ-जहाँ बहुसङ्ख्यक नेपाली छन्, त्यहाँ नेपाली भाषा साहित्य लेख्न पढ्न प्रोत्साहन गर्छ । यसका लागि न त उनीहरुले सरकारसँग कुनै सहयोग मागेका छन्, न त कुनै आश्वासन नै दिएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा नेपाली भाषा र संस्कृतिका लागि काम गर्ने भएका कारण यसले नेपालीलाई जुटाउने काम गरिरहेको छ ।

बेलायतमा मात्र १४ वटा साहित्यिक संस्था छन् । अमेरिकामा २० वटा जति होलान् । खाडी मुलकमा पनि स-साना इकाइमा दर्जनौं साहित्यिक संस्था खुलेका छन् । यी सबैको उद्देश्य नेपाली साहित्यलाई अघि बढाउने हो । राजनीतिक प्रभावमा नपरी यस्ता काम गर्नु निकै ठूलो कुुरा हो । यसले नेपाली भाषाका समाचारहरु पढ्न पनि सहयोग पुर्‍याइरहेको छ ।

नेपाली भाषा र साहित्यमा काम गर्ने यत्तिका संस्था भए पनि तपाईले प्रकाशन संस्था, जर्नल र साहित्यिक संस्था आदि चलाइरहनुभएको छ, यसको कारण के होला ?

जुनबेला विश्वभरि इन्टरनेटमा साहित्य पढ्न पाइन्नथ्यो, मैले सन् २००५ मा युनिकोडको प्रचलन आएपछि विदेशमा बस्ने नेपालीहरुका लागि पढ्न सजिलो होस् भनेर एउटा निजी ब्लग सुरु गरेँ । त्योबेला नेपाली पुस्तक र पत्रिकाबाहेक नेपाली भाषा पढ्ने अर्को माध्यम थिएन । न त नेपाली भाषामा न्युज पोर्टल सुरु भएको थियो ।

मेरो ब्लग यति लोकप्रिय भयो कि धेरै लेखक-कविले आफ्ना रचना पठाउन थाल्नुभयो । सबै लेखकका सामग्री राख्न ‘समकालीन साहित्य डट कम’ सुरु गरेँ । केही वर्षभित्रै यो यति लोकपि्रय भयो कि पाँच हजारभन्दा बढी रचना प्रकाशित भए । त्यसपछि प्रवासी नेपालीहरुका पुस्तक प्रकाशन गर्न ‘समकालीन साहित्य प्रतिष्ठान’ खोलेर पुस्तक प्रकाशन गर्न थालियो ।

अनुसन्धानमूलक जर्नल नि ?

प्रज्ञा प्रतिष्ठानले एउटा ३/३ महिनामा ‘प्रज्ञा’ नामक जर्नल निकाल्छ । त्यसबाहेक त्रिभुवन विश्वविद्यालयले एउटा वाषिर्क जर्नल । भारत र नेपालका केही अन्य संस्थाले फाट्ट-फुट्ट यस्ता जर्नल निकाल्दा हुन् । तर, विदेशको हकमा नेपाली भाषा साहित्यमा यस्ता जर्नल छैनन् । दुई करोडभन्दा बढीले बोल्ने नेपाली भाषा र साहित्यसम्बन्धी यति थोरै अनुसन्धानात्मक जर्नल निस्कनु आफैंमा लज्जास्पद कुरा हो । डायस्पोरा नेपालीहरुका तर्फबाट पनि भाषा र साहित्यमा योगदान होस् भन्ने हेतुले यो काम गरेका हौं ।

नेपालमा तपाईं ०४६ सालअघि राजनीतिमा पनि निकै सक्रिय हुनुभएको सुनियो, अहिले राजनीतिप्रति वितृष्णा किन ?

त्योबेला स्वतन्त्रताका लागि लागिएको थियो । जे कुराका लागि काम गरिएको थियो, त्यो पूरा भएपछि पनि राजनीतिका पछि लाग्नु राम्रो हो भन्ने लागेन । विदेशमा रहेको व्यस्त सयममा धेरै कुरा गर्न नसकिए पनि भाषा साहित्यका लागि जति गर्न सकिन्छ, गरौं भनेर लागिरहेको छु ।

दुई दशकअघि तपाईंले नेपाल छाड्दा र अहिलेको नेपालमा के परिवर्तन देख्नुहुन्छ ?

सबै कुरालाई राजनीतिले गाइड गर्न थालेको छ । गाउँ टोल मात्रै होइन, बौद्धिक तहलाई पनि राजनीतिले प्रत्यक्ष निर्देशन गरेको छ । यही कारण हाम्रो सिर्जनात्मक क्षमतामा ह्रास आएको छ

हामी साहित्यमा लाग्दा आफ्नो रचना छापिनु नै ठूलो कुरा हुन्थ्यो । प्रकाशन संस्था थिएनन् । साक्षरता दर पनि निकै तल थियो । तर, अहिले लेखेपछि छापिनु समस्या छैन । तर, जुन रुपमा गुणस्तर बढ्नु पर्दथ्यो, बढ्न सकेको छैन । लेखक त भए तर चिन्तक भएनन् ।

अर्को कुरा, पहिले नेपालीहरुमा पेट भर्नुलाई खानु भनिन्थ्यो । पौष्टिक तत्वसम्बन्धी ज्ञान थिएन । अहिले नेपालीहरुमा विदेशको अनुभव र शिक्षाका कारण पौष्टिकतत्वयुक्त खाना खानुपर्छ भन्ने चेतना आएको छ । पहिले भुँडी भएको व्यक्तिलाई राम्रो भनिन्थ्यो, अहिले शारीरिक ब्यायाम गर्नेहरुको इज्जत छ ।

त्यसपछि पहिरनमा पनि सुहाउँदो लुगा लगाउनुपर्छ भन्ने चेतना आएको छ । सुन्दा यसले सामान्य कुरा गर्‍यो भन्ने लाग्छ, तर गहिरिएर हेर्दा यो निकै ठूलो कुरा हो । यो चेतनाको स्तर परिवर्तन भएको कुरा हो ।

नराम्रो कुरा चाहिँ के देख्नुहुन्छ ?

सबै कुरालाई राजनीतिले गाइड गर्न थालेको छ । गाउँ टोल मात्रै होइन, बौद्धिक तहलाई पनि राजनीतिले प्रत्यक्ष निर्देशन गरेको छ । यही कारण हाम्रो सिर्जनात्मक क्षमतामा ह्रास आएको छ । सायद त्यसैको प्रभाव विदेशमा बस्ने नेपालीलाई पनि परेको छ । यो निकै दुःखलाग्दो कुरा हो ।

इन्टरनेटको  जमानामा विदेशमा बसेर प्रकाशन संस्था खोलिरहनुभएको छ । नेपाली पुस्तक प्रवर्द्धनमा लागिरहनुभएको छ । समय परिवर्तन भएन र ?

विदेश आएको यो पहिलो पुस्ताको नेपाली हो । यो पुस्ता पुस्तक पढेरै हुर्किएको हो । त्यसैले हातमा पुस्तक राखेर पढ्नुको आनन्द नै अर्को हुन्छ । अर्को कुरा, पुस्तकमा एक प्रकारको मीठो गन्ध हुन्छ । हुन त पुस्तक पनि निर्जिब नै हो, तर त्यसले सजीब महसुस गराउँछ जब कि इन्टरनेट पूर्णरुपमा निर्जिब ।

स-साना समाचार र विचार पढ्न नेटमा सहज होला, तर लामो कुुरा पढ्न पुस्तक नै राम्रो हो । विश्व बजारमा अहिले पनि पुस्तक पढ्ने बानी घटेको छैन । पहिले टेलिभिजन आउँदा रेडियोलाई धेरै असर गरेन । इन्टरनेटमा समाचार आउँदा पत्रिकाको महत्व धेरै घटेन । ठीक त्यस्तै नेटमा पढ्ने साहित्यले सजीब पुस्तकलाई धेरै असर गर्दैन भन्ने मेरो मान्यता छ ।

अर्को कुरा, ठूला डिपार्टमेन्टल स्टोरहरुमा सबै किसिमका नेपाली खानेकुरा पाइन थालेका छन् । कतिसम्म भने नेपालीलाई मन पर्ने चिनियाँ गुन्द्रुक पनि । नपाइने भनेको यही सजीव पुस्तक हुन्  । नेपालबाट उपहार स्वरुप मगाउने भनेकै पुस्तक हुन् । यसले नेपालसँगको नाता, भाषासँगको सामीप्य निकै बढाएको महसुस गरेको छु ।

तपाईले आफ्नो पुरानो परिचय लुकाउन खोज्नुको कारण चाहिँ के होला ?

मैले धेरै कामगरे जस्तो लाग्दैन । यसको अर्थ केही गरिनँ भन्ने पनि होइन । खास कुरा के भने मैले नेपालमा जति गरेँ, त्योभन्दा धेरै सामाजिक, राजनीतिक र साहित्यिक काम गर्नेहरु प्रशस्त छन् । त्यसैले त्यो कुरा महत्वपूर्ण होइन । तर, प्रवासमा बसेर नेपाली भाषा र साहित्यका लागि जे गरिरहेको छु, यसमा केही सन्तोष लागेको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *