Uncategorized

यही आत्मविश्वासलाई रहे नेपाल साफ च्याम्पियन बन्छ : प्रशिक्षक खड्का

२९ कात्तिक, काठमाडौं । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ ।

ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो स्वदेश फर्किएको हो । नेपाली टिमलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

निकै उत्साहित देखिएका प्रशिक्षक हरि खड्काले यो नेपालको लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै आफ्नो योजना सफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘भारतसँग हामीले दिमागले खेल्यौं । तर पनि एक गोलको लिडिङ गर्दा गर्दै पनि बराबरीमा रोकियौं । म्यानमारका मुख्य खेलाडीविरुद्ध हामीले प्लान गरेका थियौं त्यसै अनुसार खेलाडीले खेले । सबै एकपछि अर्को खेलमा राम्रो खेल्दै गए । यसको श्रेय खेलाडीलाई नै जान्छ ।’

त्यसो त नेपाली महिला टिमले यो पटकको साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने लक्ष्य बनाएको छ । त्यसको तयारीको रुपमा पनि यो छनोटलाई हेरिएको थियो । यसबारे प्रशिक्षक खड्का यसो भन्छन् , ‘यो छनोट खेलले खेलाडीमा आत्मविश्वास उच्च भएको छ । यही आत्मविश्वासलाई कायम राख्दै खेल्यो भने साफमा अवस्य पनि राम्रो नतिजा आउछ ।’

उनी थप्छन्, ‘राम्रो टिमसँग मैत्रीपूर्ण खेल खेल्दै अघि बढ्नु पर्छ जस्तो लाग्छ । हाम्रो लक्ष्य भनेकै साफ च्याम्पियनसिप च्याम्पियन हुनु हो ।’

यता, नेपालको पहिलो पटक कप्तानको जिम्मेवारी निभाएकी निरु थापा अन्तिम खेलको अन्तिम समयमा चुक्दा तेस्रो हुनु परेको बताउछिन्, ‘भारत पहिले जस्तो भएपनि बंगलादेश टिम धेरै राम्रो भएको छ । बंगलादेशसँग हाम्रो लक्ष्यअनुसारको खेल खेल्न सकेनौं । अन्तिम समयमा हामी चुक्यौ ।’

म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सी ३ खेलबाट ३ अंक नै बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट २ टिमले दोस्रो चरणमा पुग्ने प्रावधान थियो । यसैअनुसार नेपाल ओलम्पिकको दोस्रो चरणमा छनोट हुन सफल भएको हो ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल भन्दा निकै अब्बल टिम आयोजक म्यानमारलाई १–१ गोलकै बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम तथा तेस्रो खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फेरी अंक बाँडेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *