Uncategorized

मामाको हातबाट बन्दुक पड्कदा भाञ्जाको मृत्यु

२८ कात्तिक, वीरगञ्ज । मामाघरमा मृत्यु भएका १३ वर्षीय आर्यन तामाङको निधारमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारस्थित मामाघरमा भरुवा बन्दुक पड्किदा उनको निधारमा गोली लागेर मृत्यु भएको हो ।

शुरुमा तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि घटनास्थलमा प्रेसर कुकर पड्केको कुनै प्रमाण नभेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनाको रहस्य खुलेको थियो ।

आर्यनका मामा २४ वर्षका सन्तोष घलेको हातबाट भरुवा बन्दुक पड्केर निधारमा लागेपछि भाञ्जा आर्यनको मृत्यु भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । घलेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पहिला त उनीहरुले कुकर पड्केर दुर्घटना भएको बताएका थिए, कुकर पड्केको प्रमाण नभेटिएपछि हामीलाई शंका भयो’ प्रहरी उपरीक्षक ढकालले भने ‘अनुसन्धानका क्रममा मामाकै हातबाट गोली चलेर भाञ्जाको मृत्यु भएको कुरा आएको छ । घटनाका बारेमा थप अनुसन्धान हुँदैछ ।’

विस्तृत विवरण आवश्यक अनुसन्धान पछि नै थाहा हुने उनको भनाइ छ । आर्यनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

यसरी भयो घटना

प्रहरीका अनुसार घलेको घरमा चाडवाडमा पड्काउन भरुवा बन्दुकमा बारुद भरेर राखिएको थियो । बिहानैदेखि आर्यनले बन्दुक पड्काउने भनेर जिद्दि गरिरहेका थिए । भाञ्जाको जिद्दीको अगाडि मामा सन्तोषको केही नलागेपछि बन्दुक राखिएको ठाउँबाट बोकेर बाहिर निस्केका थिए ।

पहिला पछाडि नै रहेका आर्यन पछि दौडेर अगाडि आएर बन्दुकको मजल (चुच्चोको भाग) मा आँखा लगाएर हेर्दै थिए । सोही क्रममा सन्तोषको हातबाट अचानक ट्रिगर दब्न पुगेको र निधारमा लागेर उनको मृत्यु भएको थियो । जानाजानी नभएर दुर्घटनावस आफ्नो हातबाट गोली चलेर भाञ्जाको मृत्यु हुन पुगेको सन्तोषले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *