Uncategorized

विदेशबाट फर्किएका पौरखी युवाले ४० रोपनीमा सुरु गरे कृषि फार्म

२७ कात्तिक, गोरखा । कृषि पेशा छाडेर वैदेशिक रोजगारीमा लाग्ने युवाहरुको जमात ठूलै छ । तर वैदेशिक रोजगार छाडेर कृषि पेशा शुरु गर्ने क्रम पनि विस्तारै बढ्न थालेको छ ।

तीनैमध्ये गोरखा मनकामनाका केही किसानहरु पनि पर्छन् । दश जना मिलेर उनीहरुले शहीद लखन गाउँपालिका–३ कल्लेरीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् । वैदेशिक रोजगारबाट फर्किएका उनीहरु विगत तीन बर्षदेखि व्यवसायिक कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।

इजरायलमा कृषि तालिम लिएर आएका झक्कलबहादुर थापाको अध्यक्षतामा उनीहरुले लाफा नमूना कृषक समूह दर्ता गरेका छन् । उनकै नेतृत्वमा सञ्चालित उक्त फर्ममा तरकारी र फलफूल मात्र होइन, माछा, बंगुर र कुखुरापालन पनि हुदै आएको छ । बार्षिक दुई लाख भाडा दिने गरी करिव ४० रोपनी जग्गा दश बर्षका लागि भाडामा लिएर उनीहरुले फर्म सञ्चालन गरेका हुन् ।

सबैभन्दा बढी २० रोपनी क्षेत्रफलमा माछापालन गरिएको बजार व्यवस्थापक कविर थापा मगरले बताए । ‘पहिले तीन वटा मात्र पोखरी थियो तर अहिले १२ वटा पोखरीमा माछा पालन गरेका छौं,’ उनले भने, ‘एक पटकमा साढे चार लाख भुरा माछा हाल्न मिल्छ ।’ एक लटमा करिव ६० देखि ७० क्वीन्टल माछा बेच्ने गरेको उनले बताए ।

पाँच रोपनी क्षेत्रफलमा कुखुरापालन गरिएको छ । ‘पहिले एउटा फर्म थियो तर अहिले तीन वटा कुखुरा फर्म छन्, पाँच हजार कुखुरा अटाउँछन्,’ मगरले भने । त्यस्तै सात रोपनी क्षेत्रफलमा प्लाष्टिक टनेल बनाएर तरकारी खेती गरिएको छ ।

काँक्रो, घिरौला, गोलभेडा, भेन्टा, आलु, काउलीलगायतका तरकारी खेती गर्दै आएको उनको भनाइ छ । पोखरीको डिलमा गरिएको केरा खेतीले सात रोपनी क्षेत्रफल ओगटेको छ । सँगै वंगुर पालन पनि गरिएको छ । माछाको माग अत्याधिक हुने गरेको उनी बताउँछन् ।

साना कृषि सहकारीबाट २० लाख ऋण लिएर करिब ४० लाख रुपैयाँको लगानीमा २०७२ को चैत्र महिनाबाट उनीहरुले फर्म सञ्चालन गरेका हुन् । धेरै कुरामा फाइदा पुग्ने अपेक्षासहित एकीकृत कृषि फर्म सञ्चालन गरेको उनीहरुको भनाइ छ । ‘एकीकृत फर्म सञ्चालन गर्दा धेरै कुरामा फाइदा पुग्ने देख्यौ, आवश्यक सबै मल कुखुरा र बंगुरबाट पाइने, फेरि धेरैले एउटा मात्र काम गरेका छन् हामी चाहिँ एकीकृत गरौ भन्ने सोच आयो, अनि शुरु गरेका हौ,’ मगरले भने ।

पोखरी र सिञ्चाईका लागि आवश्यक पानी दरौदी खोलाबाट लिफ्टिङ गरेर ल्याइएको उनी बताउँछन् । ‘विद्युत नचाहिने जिरो इनर्जीबाट पानी लिफ्ट गर्दै आएका छौं, भुन्टे कुलोको पानी पनि प्रयोग गरेका छौं,’ उनले भने । कुखुरालाई पानी खुवाउनका लागि इनार खनिएको उनको भनाइ छ । उत्पादित कृषि उपज उनीहरु स्थानीय बजारमै बिक्री गर्छन् । ‘बजार व्यवस्थापनमा कुनै समस्या छैन, फेरि शनिबार लाग्ने हाट बजारले थप सहज बनाइदिएको छ,’ उनले भने ।

आफै सञ्चालक, आफै कामदार

फर्ममा सञ्चालकहरु नै कामदारको रुपमा काम गरिरहेका छन् । दश जनाले कामको जिम्मेवारी बाँडफाँट गरेका छन् । चार जनालाई कुखुरा फर्म हेर्ने जिम्मेवारी तोकिएको छ भने तरकारीका लागि दुइ जनालाई जिम्मा दिइएको छ ।

त्यस्तै केरा खेती, बंगुर र माछा पालनका लागि एक÷एक जनालाई जिम्मेवारी दिइएको छ । बाँकी एक जनाले कार्यालय हेर्ने जिम्मेवारी लिएका छन् । ‘महिनाको २० दिन हाजिर हुनैपर्छ, फर्ममा बस्ने पनि पालो हुन्छ, बसेको छुट्टै भत्ता आउँछ,’ उनले भने । फर्मबाट बार्षिक ६० लाख रुपैयाँ भन्दा बढि आम्दानी हुने उनको भनाइ छ ।

अहिले उक्त फर्म अवलोकनको गन्तव्य स्थल पनि बनेको छ । सरकारी टोलीदेखि शैक्षिक भ्रमणसम्म फर्मको अवलोकन गर्न आउने मगर बताउँछन् । कतिपय स्थानीयलाई सिकाइ केन्द्र पनि बन्ने गरेको छ उक्त फर्म । ‘वरपरका स्थानीयहरु यहाँ आएर खेती गर्ने उपाय सिक्ने अनि काम पनि शुरु गर्ने गुर्नभएको छ,’ उनले भने ।

फर्मका लागि आवश्यक तरकारीको बिउबिजन, माछाको भुरा, कुखुराको चल्ला र केराको बिउ चितवनबाट ल्याउने गरेको उनी बताउँछन् । कृषि पेशामा भविष्य देखेका उनीहरुले यसैबर्ष माछा ह्याचरी र गाईफर्म सञ्चालन गर्ने तयारी गरेका छन् । तीस बिघा जग्गा भाडामा लिएर काम शुरु गर्ने उनीहरुको योजना छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *