Uncategorized

ज्योतिषको साइत अनुसार ‘दाल भात तरकारी’को मुहुर्त

चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ ।

मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा यो चलचित्र बन्न लागेको हो । मंसिर १ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई करिब ५० दिन लगाएर खिच्ने निर्माता किरण केसीले जानकारी दिए । चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियंका कार्की, बर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदनलाई छोरा भएकै कारणले चलचित्रको निर्देशनको जिम्मा दिन नलागेको किरणले बताए । चलचित्रका लेखक हरिवंश आचार्यले सामाजिक कथावस्तुलाई हाँस्यरसमा प्रस्तुत गर्न लागेको बताए । कलाकार पुष्पल खड्काले यो टिमसँग जोडिन पाउँदा आफू उत्साहित रहेको सुनाए ।

चलचित्रलाई वि.सं २०७६ साल वैशाख १३ गतेबाट रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रमा समावेश ३ वटा गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । ज्योतिषले दिएको साइत अनुसार आज बिहान ८ बजेर ३१ मिनेटमा चलचित्रको शुभसाइत गरिएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *