Uncategorized

राजपामा ‘नक्कली’ विधान विवाद, कसले हटायो बुँद्धा नम्बर १२ ?

२६ कात्तिक, काठमाडौं । पार्टी एकिकरणपछि सामूहिक नेतृत्वको अभ्यास गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) मा महाधिवेशनपछि अध्यक्ष मण्डल राख्ने/नराख्ने भन्ने विवाद चर्कँदै गएको छ ।

निर्वाचन आयोगमा बुझाएको र कार्यकर्तालाई वितरण गरेको विधान फरक परेपछि राजपा भित्रै नेतृत्वले नक्कली विधान वितरण गरेको भन्दै विरोध शुरु भएको छ ।

आयोगमा बुझाएको राजपा विधानको १२ नम्बर बुँदामा ‘अध्यक्ष मण्डल आउँदो महाधिवेशनपछि समेत रहनेछ’ भनिएको छ ।

तर, कार्यकर्तालाई दिइएको विधानमा १२ औं बुँदा नै छैन । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो अध्यक्ष मण्डल रहने वा नरहने भन्ने विषय पछि महाधिवेशनले तय गर्ने भएकाले कार्यकर्तालाई वितरण गरिएको विधानमा केही व्यवस्था भिन्न राखिएको बताउँछन् । ‘राजपाले नक्कली विधान वितरण गर्‍यो भन्नु सरासर झुठ हो’ अनलाइनखबरसँग महतोले भने, ‘महाधिवेशनपछिको व्यवस्था के हुने भन्ने विषयमा अहिले विवाद गरिराख्न आवश्यक छैन ।’

विधानको विषय चकिर्ँदै गएपछि अध्यक्ष मण्डलको बैठक समेत बस्न सकेको छैन ।

राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल भने अध्यक्ष मण्डल भन्दा पहिला राजनीतिक समितिको बैठक बस्नुपर्नेमा जोड दिए । राजनीतिक समितिले विवाद मिलाएपछि मात्रै अध्यक्ष मण्डलको बैठक बस्नु उपर्युक्त हुने उनको सुझाव छ ।

अध्यक्षहरूलाई अस्तित्वको चिन्ता

२०७४ बैशाखमा ६ वटा मधेश केन्दि्रत दल मिलेर राजपा गठन भएको थियो । एकिकरण हुनु अघिको पार्टीमा अध्यक्ष रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादव अध्यक्ष मण्डलमा छन् ।

ती सबै अध्यक्षहरू सँधै शीर्ष नेतृत्वमा बस्न खोज्नु नै विधान विवादको मुल जड रहेको राजपा स्रोत बताउँछ । ‘सानो पार्टी खोलेर अध्यक्ष बनेकै आधारमा राजपाको शीर्ष तहमा बस्न खोज्नेहरूका कारण पार्टीमा विवाद चर्किएको हो’ स्रोतले भन्यो ।

विधानको मस्यौदा तयार पार्न राजनीतिक समितिले लक्ष्मणलाल कर्ण, वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको समिति गठन भएको थियो । समितिले तयार पारेको विधान राजनीतिक समितिमा छलफलै नगरी निर्वाचन आयोगमा बुझाएका थिए ।

अध्यक्ष मण्डलका सदस्य महतो राजनीतिक समितिमा छलफल नभएको अस्विकार गर्दैनन् । तर, अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष मण्डलमा भएकाले सीधै आयोगमा बुझाएको उनको भनाइ छ ।

उपाध्यक्ष वृषेशचन्द्र लाल लगायतका नेताहरूले भने नेपालमा सामूहिक नेतृत्वको अभ्यास असफल भएको भन्दै अध्यक्ष मण्डलको विरोध गर्दै आएका छन् । एकल नेतृत्व नहुँदा समयमा बैठक बस्न नसकेको र राष्ट्रिय महत्वको विषयमा समेत पार्टीको समान धारणा बस्न नसकेको असन्तुष्ट पक्षको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *