Uncategorized

निलम्बित सांसद रौनियारको पूर्वाधार साझेदार कार्यक्रमको बैठक स्थगित

२६ कात्तिक, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह (रौनियार) को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक स्थगित भएको छ ।

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि संघीय संसद सचिवालयले निलम्बन गरेको भए पनि उनको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बारेमा छलफल गर्न बैठक राखिएको थियो ।

निर्वाचित सांसदका लागि स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम मार्फत ४ करोड रुपैयाँ खर्च गर्न सक्ने व्यवस्था छ ।

सोमबार दिउँसो ३ बजेका लागि पर्सा क्षेत्र नं ३ को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक राखिएकोमा स्थगित भएको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।  औपचारिक पत्र नआएको भन्दै जिल्ला समन्वय समिति पर्साको सभाहलमा सरोकारवालाको बैठक डाकिएको थियो ।

सांसद निलम्बनमा परेको जानकारीसहित संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको हस्ताक्षर भएको औपचारिक पत्र सोमबार प्राप्त भएपछि पर्सा क्षेत्र नं ३ को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक स्थगित गरिएको जिल्ला समन्वय अधिकारी एवं उप सचिव शिवप्रसाद लम्सालले जानकारी दिए ।

‘उहाँ निलम्बनमा पर्नुभएको हल्ला त आएको थियो, तर औपचारिक पत्र नआएकोले बैठक डाकेका थियौं’ उनले भने ‘औपचारिक पत्र आएपछि बैठक स्थगित गरेका हौं ।’

संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले असोज २१ गते नै निलम्बन गरिएको पत्र जारी गरेको भए पनि औपचारिक रुपमा जिल्ला समन्वय समिति पर्सामा यसअघि कुनै जानकारी नआएको दावी उनको छ ।

संसद सचिवालयको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएकोले संसद नियमावलीमा भएको व्यवस्था अनुसार असोज १९ गतेदेखि नै सांसद रौनियार स्वतः पद निलम्वनमा परेको कुरा उल्लेख गरिएको छ । बर्दियाको बबई जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध असोज १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार आयोजित बैठकका लागि निलम्बित सांसद रौनियार पर्सा आएका छन् । उनले भने बैठक जुधेका कारण स्थगित गर्नुपरेको जानकारी दिए ।

‘पर्सा क्षेत्र नं ४ को बैठक अगाडि नै तय भएको रहेछ, पछि ३ नं को पनि गरौं भन्ने कुरा भएको थियो तर जुधाएर गर्दा कर्मचारीहरुलाई समय दिन गाह्रो हुने भएकोले बैठक स्थगित गरिएको हो’ रौनियारले भने ‘ अन्य विषयमा मलाई कुनै जानकारी छैन, सबै प्रचार झुठा हुन् ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *