Uncategorized

मौलिक भैलो संरक्षणमा कस्सिए पाका पुस्ता

२४ कात्तिक, बुटवल । जताततै रेकर्डेड गीत, त्यसमाथि तिहारसँग कुनै साइनो नभएका उत्ताउला र छाडा गीतमा नाचेर रकम माग्ने प्रवृत्तिबाट हैरान परेका तिलोत्तमा वडा नंं ११ का अध्यक्ष कृष्ण पौडेल शुक्रबार पश्चिम नेपालका पहाडी जिल्लाहरुमा खेलिने पुरानो नेपाली मौलिक भैलो प्रत्यक्ष हेर्न पाउँदा औधी खुशी भए ।

बागलुङ, गुल्मी, प्युठान,अर्घाखाँची र पाल्पामा तिहारमा खेलिने पुरानो मौलिक भैलो तराईतिर सितिमित्ति देख्न पाइँदैन । यही पुरानो भैलोलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले तिलोत्तमा ११ कै घिमिरे परिवारको पाका पुस्ताले यसपटक मौलिक भैलो खेल्न सुरु गरेको हो ।

लोप हुने अवस्थामा पुगेको पहाडमा खेलिने भैलोलाई तराईमा पनि दुरुस्तै देख्न पाउंदा वडा अध्यक्ष पौडेल दंग मात्रै परेनन् अब यस्तो भैलोलाई संरक्षण र विकास गर्न आफूले वडामा विशेष नीति बनाउने र नगरपालिकामा समेत प्रस्ताव लैजाने बचन दिए ।

तिलोत्तमाकै प्रदीपनगरका घनश्याम चालिसे पनि आफ्नो पुख्र्यौली गाउँ बागलुङगमा खेलिने भैलो यहां खेलेको थाहा पाएपछि आफ्नो घरमा खेल्न आउन निम्ता दिएर बोलाए ।

अरु भैलो मन नपर्ने बताउने चालिसेले मौलिक संस्कृति र परम्परा बोकेको पुरानो भैलो घरमा देखेपछि पुराना दिन सम्झिँदै परिवारसहित नाचेर रमाए ।

मौलिक र परम्परागत भैलो खेल्ने तरिका नयां पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय लोकराज घिमिरे, टेकराज घिमिरे, शम्भु घिमिरे, बाबुराम घिमिरे लगायतको समूहले यसपटक नयां पुस्ताका केही किशोर किशोरीलाई प्रशिक्षण दिई आफूसँगै भैलो खेल्न सहभागी गराएको हो ।

यो समूहमा चारजना किशोरीसहित २२ जनाको टोली छ । मादल, खैजडी, घुंघरा, बाँसुरी,मजुरा जस्ता बाद्यवादन अनि बेग्लै नेपाली पोशाकमा भैलेनी सजिएर मौलिक भैलो खेलिन्छ ।

मौलिक भैलो खेल्दा मादलेले शीरमा साफा (फेटा) सेतो दौरा,सेतै कछाड,कम्मरमा गादा र आस्कोट (इस्टकोट) अनि खुट्टामा घुँघरा पहिरिन्छन् भने मारुनीले गुन्यु चोली,पटुकीसहित शीरमा हार,हवेल,चुरुा पोते,खुट्टामा चांदीका कल्लीमा सजिएका हुन्छन् ।

यस्तै पुरुसुंगेहरु सेतो कपडाको घांगरा,आस्कोट,शीरमा फेटा लगाएर भैलो खेल्छन् । चारै दिशाका देवी देवताको शरण मागेर विघ्न वाधा नपरोस् भन्दै देवी वन्दनाबाट सुरु हुने भैलोमा त्यसपछि घरधनीलाई सुस्वास्थ्य, दीर्घायूको कामनासहित आशिर्वाद दिने गीत भट्याइने मौलिक भैलोका अगुवा लोकराज घिमिरे बताउँछन् । त्यसपछि मादले र मारुनी नाचिन्छ ।

यसमा मादलेलाई मारुनीले वरिपरि छेक्दै नाच्छन् । खेलीपछि चराचुरुंगीर प्रकृतिको सम्बन्ध झल्काउने गरी २ जना मादले, २ जना मारुनीको बीचमा एकजना पुरुसुंगे नाच्छन् जसलाई झुमरा भनिन्छ ।

झुमरापछि लामो लयमा शीरदेखि पाउसम्मका गहना र पोशाकको ब्याख्या गर्ने विभिन्न लयमा सोरठी नाचिन्छ ।

घरधनीले दान दिएपछि दानलाई शीरदेखि पाउसम्म राखेर घरधनीलाई आशिर्वाद दिंदै भैलो सकिने शिक्षक समेत रहेका मौलिक भैलोका अभियन्ता बाबुराम घिमिरेले बताए ।

यो समूहले परम्परागत भैलोसंगै पहाडमा खेलिने सराय नाचलाई पनि संरक्षण गर्ने योजना बनाएका छ । मौलिक भैलो र सराय नाचको सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्न यी नाचका विधि र लयबारे बेलाबेलामा प्रशिक्षण, तालिम दिने यो समूहको तयारी छ ।

रुपन्देहीको देवह नगरपालिकाले जस्तै सबै स्थानीय तहहरुले मौलिक भैलोको संरक्षणका लागि रेकर्डेड भैलो गीतलाई प्रतिबन्ध लगाउनुपर्ने युवा पुस्ताका अमृत घिमिरेको तर्क छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *