Uncategorized

भूकम्पले ध्वस्त जिरी बजारले लियो नयाँ स्वरुप

१ कात्तिक , रामेछाप । २०७२ सालमा आएको विनासकारी भूकम्पको कारण ध्वस्त भएको सुन्दर पर्यटकीय नगरी जिरी बजारमा दुईवर्ष पछि फेरि चहलपहल देखिन लागेको छ ।

रामेछापसँग सीमा जोडिएको दोलखाको यो बजारले पुरानो स्वरुप बदल्दै नयाँ स्वरुपमा उठेको छ । भूकम्पले ध्वस्त भएको जिरी बजारमा घरदेखि सडकसम्म नयाँ संरचना बनेका छन् । बजार पुरै नयाँ र आधुनिक भएको छ ।

भूकम्पले ढुँगा माटाका घर ढालेपछि जिरी बजारमा सिमेन्ट लगाइएको पक्की घर बनेका छन् । नयाँ घरमा रंगरोगन गरिएपछि बजार नै अर्कै देखिएको छ । पुराना ढुँगामाटाका घर भत्किएपछि बनेका घरमा होटलसमेत आधुनिक र सुविधासम्पन्न बनेका छन् ।

जिरीको सडक अब पहिला जस्तो साँघुरो छैन, फराकिलो बनेको छ । यात्रीहरुको लागि हिँड्न फराकिलो सडक पेटी बनाइएको छ । हरेक घरमा सवारी पार्किङ गर्ने खुल्ला ठाउँ छाडिएको छ ।

भूकम्पले होटलहरु समेत भत्किएपछि जिरी घुम्न जाने पर्यटकहरुको संख्या करिव एक वर्षजति झण्डै ठप्प भएको थियो । भूकम्प पछिको पुननिर्माणसँगै बजारमा आउने मानिसहरुको संख्या पनि विस्तारै बढ्दै गएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

‘भूकम्प गएको एक वर्षसम्म त सुनसान । सबै घर भत्किएर ध्वस्त । न बासको ठेगान न गाँसको ठेगान जस्तो भयो । घुम्न आउने मानिसहरु पनि ठप्प भए । आएर पनि बस्ने ठाउँ भए पो’, स्थानीय होटल व्यवसायी लक्की शेर्पाले विगतलाई सम्झिइन् ।

तर अहिले अवस्था फेरिइसकेको छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकहरु पनि जिरी पुग्न लागेका छन् । स्थानीयहरु भूकम्पको पीडा विर्सदै फेरि सामान्य अवस्थामा र्फकेका छन् ।

जिरी बजारलाई नेपालको स्वीटजरल्याण्ड भनेर पनि सम्बोधन गर्ने गरिन्छ । पहाडको बीचको सानो उपत्यका जिरी बजार प्राकृतिक मनोरम र चिसो हावापानी भएको क्षेत्र हो । जिरी बजार घुम्न वाहृय तथा आन्तरिक पर्यटकहरु बाक्लै पुग्ने गर्दछन् । यहाँ बजार बसाउनको लागि स्वीस सरकारले ठूलो सहयोग गरेको थियो ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि जिरीसम्म सडक निर्माण, जिरीमा प्राविधिक शिक्षालय स्थापना, अस्पताल, गाई फार्म स्थापना लगायतको काममा स्वीस सरकारले सहयोग गरेकै कारण अहिलेको जिरी जिरी भएको हो ।

गाई फार्म पनि विस्तार हुँदै

जिरीमा स्थापित सरकारी गाईफार्म भूकम्पपछि अस्तव्यस्त भएको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको सो फार्मका सबै घरहरु भत्किएपछि गाईबाच्छाको बिचल्ली भएको थियो ।

भूकम्पले भत्किएका गाई गोठहरुको पनि पुनर्निर्माणको काम सुरु भएको छ । केही नयाँ गोठहरु बनाइएका छन् भने केही अस्थाई गोठहरु निर्माण गरि गाईबाच्छालाई सुरक्षित रुपमा राखिएको छ ।

अहिले गाईगोठमा एक सय भन्दा बढी गाई छन् । यहाँका गाईबाट उत्पादन भएको दूध दुग्ध विकास संस्थानले खरिद गर्छ । केही दूध स्थानीयलाई पनि फार्मले बिक्री गर्ने गरेको छ । यहाँको गाईमध्ये एउटा गाई दरवारमा पालिएको गाई समेत छ ।

प्राविधिक शिक्षालय पनि नयाँ बन्दै

जिरीमा रहेको मध्यम स्तरका प्राविधिकहरु उत्पादन गर्ने जिरी प्राविधिक शिक्षालयका भवनहरु पनि भूकम्पको कारण सबै ढले । घरहरु ढलेपछि शिक्षालमा पठनपाठन सञ्चालनमा समेत निक्कै समस्या भयो । तर अहिले शिक्षालयका पनि सबै नयाँ घरहरु बनिरहेका छन् । नयाँ बनेका घरहरु भूकम्पीय हिसाबले पूर्ण सुरक्षित रहेको शिक्षालयले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *