२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले पार्टीको विधि र प्रक्रिया मिचेर विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लोकतान्त्रिक फोरमबाट एकतामा आएका गच्छदारलाई उपसभापतिमा मनोनित गर्यो । तर, पार्टी विधि र प्रक्रिया भन्दा बाहिर गएर निर्णय गरिएको भन्दै संस्थापनइतरका नेताहरुले असन्तुष्टि जनाएका छन् । ‘हामीले वैठकमै पार्टीको विधि र प्रक्रिया अनुसार निर्णय गर्नुपर्छ भनेका हौं । मैले यहि ढङ्गले कुरा राखें,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले पत्रकारहरुसँग भने, ‘तर निर्णय भयो । सर्वसम्मत भएको होइन ।’
पार्टीको विधानअनुसार गच्छदारलाई उपसभापति बनाउँन नमिल्ने भन्दै संस्थापनइत्तरका नेताहरुले बैठकमै असहमती जनाएका थिए । पार्टी एकता गर्दा भएको सहमती कार्यान्वयन गर्नका लागि बाधा अड्काउ फुकाउको बाटो अपनाउन सकिने र त्यसका लागि एउटा छुट्टै समिति जान सकिने प्रस्ताव आफूहरुले राखेको नेता केसीले जानकारी दिए ।
कांग्रेसमा पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ । यसअघि गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मात्रै थिए । ‘बाधा अड्काउ फुकाउ गर्न सकिने बाटो थियो । त्यो कांग्रेसको विधि हो,’ नेता केसीले भने, ‘उहाँहरुको भातृसंगठनलाई पनि समाहित गर्नुपर्ने छ । यी सबै कामका लागि एउटा समिति बनाउँ भन्ने थियो तर आजै निर्णय भयो ।’
तर, निर्णय भइसकेपछि आफूहरुले गच्छदारलाई बधाइ दिएको र गच्छदारलाई उपसभापति बनाउनै हुन्न भन्ने पक्षमा भने आफूहरु नरहेको पनि उनले बताए ।
कांग्रेस नेता रमेश लेखकले भने गच्छदारलाई उपसभापति बनाउने निर्ण राजनीतिक निर्णय भएको भन्दै बचाउ गरेका छन् । ‘यो राजनीतिक निर्णय हो । दुई वटा पार्टीका बीचमा राजनीतिक छलफल भयो । त्यही अनुसार तत्कालीन लोकतान्त्रिक फोरम नेपाल कांग्रेसमा समाहित भयो । हामीले त्यसबारे निर्वाचन आयोगमा जानकारी गरायौं , ‘ उनले भने, ‘यो सबै प्रक्रिया राजनीतिक प्रक्रिया हो । र अहिले पनि जुन निर्णय गरिएको ट त्यो राजनीतिक निर्णय हो ।’
राजनीतिक निर्णयमा विधि र प्रक्रिया भन्दा पनि तत्कालीन आवश्यकता र राजनीतिक सहमती नै महत्वपूर्ण हुने उनको भनाइ छ ।



